काठमाडौँ । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिनुभएको छभने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ ।
सङ्गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व सङ्गीतमा फर्किएका हुन । सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसङ्गीत तयार गरेको उनले बताए। “मैले चलचित्रको गीत लेखन र सङ्गीतको काम छाड्नुको कारण उक्त समयमा गीतसङ्गीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन”, उनले भने ।
उनलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गर्नुभएको रहेछ तर सङ्गीतकार थापा तयार हुनुभएन । त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गर्नुभएका सङ्गीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउछन ।
चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसङ्ग थाहा पाएपछि सङ्गीतकार थापाले शब्द र सङ्गीत सिर्जना गरे । त्यसपछि उनले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गर्ेको जनाइएको छ । “म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले भने।
यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उनले बताए । गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताइन् । उनले भनिन्, “मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ ।”
गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताए । “म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ । मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ । आफ्नै गुरु गायिका जोशी र अग्रज सङ्गीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो । मैले सङ्गीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु”, उनले भने ।
चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताए ।
वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको हो । उहाँले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १३ : ०२
लेखकबाट थप