काठमाडौँ । ग्रेगोरियन पात्रो अनुसार बुधबारदेखि सुरु भएको नयाँ वर्ष इस्वी संवत् २०२५ को उपलक्ष्यमा पोखरेली लोकपप रक सांगीतिक समूह ‘कन्दरा ब्यान्ड’ले नयाँ गीत ‘हुनेछ: द संग अफ होप’ सार्वजनिक गरेको छ ।
सांगीतिक यात्राको ३२औँ वर्षमा रहेको समूहले नयाँ यात्राको सुरुआत गर्दै गीत ल्याएको गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिए। उनले भने, “हामीले संगीत रुचाउने युवाको समूह स्थापना गरेर गीतसंगीतमा रहेको ३२ वर्ष पूरा भइसकेको छ । केही समयको अन्तरालपछि सार्वजनिक गरिएको यो गीतलाई सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वका विषय समेटेर तयार गरेका छौँ । यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ ।” उनले गीतले नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने बताए ।
‘हुनेछ: द सङग अफ होप’मा शब्द रचनासँगै संगीत समूहका ‘ड्रम’ वादक सुनिल थापाले दिएका छन् । गीतको श्रव्य दृश्यको निर्देशन र कथा केदार भुसालले तयार गरेका हुन् । यस समूहमा ‘ड्रम्स’मा सुनील थापा, ‘लिड गितार’मा देव लामा, ‘बास गिटार’मा पंकज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा हुन् ।
‘कन्दरा ब्यान्ड’को ‘लेककी हे माया’, ‘बिदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’लगायत गीत नयाँ पुस्तामाझ लोकप्रिय छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, ११ : १७
लेखकबाट थप