काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो। १ सय ८५ रनको विजयी लक्ष्य पच्छ्याएको जनकपुरले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
जनकपुरको जीतमा लाहिरु मिलान्थाले शानदार अर्धशतकको योगदान गरे । ओपनर ब्याट्सम्यान मिलान्थाले अर्धशतकसहित ८७ रनको आक्रामक पारी खेले । उनले ४९ बलमा ८७ रन बनाए । ९ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाएका मालान्था कुगेलिनको बलमा आउट भए । कुगेलिनको बलमा उनी आफैले क्याच लिएर मिलान्थालाई पेभेलियन फर्काए ।मिलान्थाले ६५ रनको स्कोरमा जीवनदान पाएका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा मिलान्थाको क्याच ऐरी आफैले छोडेका थिए ।
मिलान्था र कप्तान आशिफ शेखले जनकपुरका लागि इनिङको आक्रामक शुरूआत दिए । उनीहरूबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो । जीतका लागि त्यही साझेदारी बलियो जग बन्यो ।सातौं ओभरको अन्तिम बलमा आशिफ शेख १८ बलमा ३३ रन बनाएर आउट भए । उनलाई सुदूरपश्चिमका शेइफ अलि जेइबले आउट गरे ।
छक्का हान्ने क्रममा हावामा उडेको बललाई ब्रान्डन म्याकमुल्लेनले क्याच गरेका थिए ।आशिफको ठाउँमा आएका मोहम्मद महसिन लगत्तै आउट भए । इशान पाण्डेले उनलाई क्लिन बोल्ड गरेका थिए । मोहसिनले एउटा छक्का प्रहार गरेर ८ बलमा ९ रन बनाएका थिए ।
त्यस पछि आएका जनकपुरका अर्का ब्याटर हर्ष थाकेरले मिलान्थासँगको साझेदारीलाई अगाडी बढाएका थिए । थाकेर २३ बलमा २९ रन बनाएर अविजित रहे । जनकपुरलाई जीत सम्म पुर्याउन थाकेरको योगदान पनि महत्वपूर्ण थियो । थाकेरले २ वटा छक्का प्रहार गरेका थिए ।
यस अघिको खेलमा आक्रामक पालि खेलेका जिमी निशम भने फाइनल खेलमा चलन सकेनन् ।७ बलमा ४ रन बनाएका निशमलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले क्लिन बोल्ड गरेका थिए ।जीतका लागि अन्तिम रन भने मयान यादवको ब्याटबाट आएको थियो । उनी ३ बलमा २ रन बनाएर नट आउट रहे ।
सुदूरपश्चिमका लागि कुगेलिन, ऐरी, इशान पाण्डे र म्याकमुलनले क्रमशः १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।पहिलो विकेटको लागि ओपनर ब्याट्सम्यान शेइफ अलि जेइब र विनोद भण्डारीबीच भएको ११७ रनको साझेदारीका कारण सुदूरपश्चिमले विशाल रनको स्कोर खडा गर्यो ।
सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमा नै बिनाकुनै विकेटको क्षतिमा १७ रन बनाएको थियो । ओपनर ब्याट्सम्यान विनोद भण्डारीले पहिलो ओभरमै जनकपुरका बलर हर्ष थाकेरलाई दुई छक्का प्रहार गरेका थिए ।पहिलो ओभरमा १७ रन खाएका हर्ष थाकेरले तेस्रो ओभरको खेलमा आफ्नो दोस्रो ओभर भने मेडन दिएर कमब्याक गर्न कोशिश गरेका थिए ।
इंगलिश ब्याट्सम्यान जेइबले थाकेरको दोस्रो ओभरमा भने कुनै पनि रन बनाउन सकेनन् । त्यसैगरी ललित राजवंशीले पनि पाँचौं ओभर मेडन गरेर जनकपुरलाई कम ब्याक गराउन सफल भए । राजवंशीको उक्त ओभरमा विनोद भण्डारीले एक रन पनि बनाउन सकेनन् ।
६ ओभरको पावरप्ले सकिँदा रोयल्सले बिनाकुनै विकेटको क्षतिमा ४८ रन बनाएको थियो । जसमा विनोद भण्डारीले २५ रन र सेइफ अलि जेइबले १८ रन बनाएका थिए ।१० ओभरको खेल सकिँदा बिनाकुनै विकेटको क्षतिमा सुदूरपश्चिमले ९७ रन बनाएको थियो । १२ औं ओभरमा जेइबले शानदार अर्धशतक बनाएर आउट भए । जनकपुर बोल्ट्सका किशोर महतोको बलमा बेलायती खेलाडी जेइब ६९ रन बनाएर आउट भए ।
८ चौका र २ छक्काको मद्दतले उनले ४३ बलमा ६९ रन बनाए । १२ औं ओभरमै महतोको दुई वटा बलमा जेइबको क्याच छुटेको भए पनि अन्ततः तेस्रो पटकमा ललित राजवंशीले क्याच लिन सफल भएका थिए ।
त्यसको लगत्तै ११७ रनकै स्कोरमा सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारी पनि ४२ रन बनाएर आउट भएका थिए । १३ औं ओभरमा ललित राजवंशीले उनलाई क्लिन बोल्ड गरेका थिए । भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतले ४२ रन बनाएका थिए ।
त्यसपछि १५ ओभरमा आक्रामक देखिएका हरमीत सिंह पनि मोहम्मद मोहशिनका सिकार भए । मोहशिनको बलमा छक्का प्रहार गर्न खोजेका सिंहको बल हेमन्त धामीको हातमा क्याच समातिएको थियो । सिंहले एउटा छक्काको मद्दतले ८ बलमा १४ रन बनाएका थिए । त्यस पछि १६ ओभरमा जिम्मी निशमले सुदूरपश्चिमका ब्राण्डन म्याकमुल्लेनलाई पनि क्लिन बोल्ड गरेर पेभेलियन फर्काएका थिए ।
आक्रामक बन्न खोजेका म्याकमुल्लेनले १ छक्काको मद्दतले १२ बलमा १४ रन बनाएका थिए । १९ औं ओभरमा सुदुरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी स्पिनर मोहम्मद मोहसिनका सिकार भएका थिए । छक्का हान्ने प्रयासमा ऐरीले हेमन्त धामीलाई क्याच थमाएका थिए ।
७ बलमा ९ रन बनाएर उनी आउट भए । सोही ओभरमा मोहसिनले सुदूरपश्चिमका अर्का ब्याट्सम्यान आरिफ शेखलाई पनि पेभेलियन फर्काउन सफल भएका थिए । ३ बलमा १ रन बनाएका आरिफले आफ्नो बल ललित राजवंशीको हातमा थमाएका थिए ।
२० औं ओभरमा न्युजिल्यान्डका स्कट कुगेलिन किशोर महतोको बलमा आउट भएका थिए । १० बलमा १३ रन बनाएका कुगेलिनलाई महतोले क्लिन बोल्ड गरेका थिए । २० औं ओभरमै महतोले नरेश बुढाऐरलाई आउट गरेका थिए । २ बलमा एउटा छक्काको मद्दतले आठ रन बनाएका उनलाई तेस्रो बलमा महतोले आउट गरेका थिए ।
३ बलमा ८ रन बनाएका उनलाई शेर मल्लले क्याच गरेर पेभेलियन फर्काएका थिए । २० औं ओभरको अन्तिम बलमा इशान पाण्डेले २ रन पुरा गरेर तेस्रो रन बनाउने क्रममा रन आउट भएका थिए । जनकपुरका लागि मोहम्मद मोहशिन र किशोर महतोले सर्वाधिक ३/३ विकेट लिए भने ललित राजवंशी र जिमी निशमले क्रमशः १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलको उपाधि जित्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश