काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो ।
पहिलो विकेटको लागि ओपनर ब्याट्सम्यान शेइफ अलि जेइब र विनोद भण्डारीबीच भएको ११७ रनको साझेदारीका कारण सुदूरपश्चिमले विशाल रनको स्कोर खडा गर्यो ।
सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमा नै बिनाकुनै विकेटको क्षतिमा १७ रन बनाएको थियो । ओपनर ब्याट्सम्यान विनोद भण्डारीले पहिलो ओभरमै जनकपुरका बलर हर्ष थाकेरलाई दुई छक्का प्रहार गरेका थिए ।
पहिलो ओभरमा १७ रन खाएका हर्ष थाकेरले तेस्रो ओभरको खेलमा आफ्नो दोस्रो ओभर भने मेडन दिएर कमब्याक गर्न कोशिश गरेका थिए ।इंगलिश ब्याट्सम्यान जेइबले थाकेरको दोस्रो ओभरमा भने कुनै पनि रन बनाउन सकेनन् ।त्यसैगरी ललित राजवंशीले पनि पाँचौं ओभर मेडन गरेर जनकपुरलाई कम ब्याक गराउन सफल भए । राजवंशीको उक्त ओभरमा विनोद भण्डारीले एक रन पनि बनाउन सकेनन् ।
६ ओभरको पावरप्ले सकिँदा रोयल्सले बिनाकुनै विकेटको क्षतिमा ४८ रन बनाएको थियो । जसमा विनोद भण्डारीले २५ रन र सेइफ अलि जेइबले १८ रन बनाएका थिए । १० ओभरको खेल सकिँदा बिनाकुनै विकेटको क्षतिमा सुदूरपश्चिमले ९७ रन बनाएको थियो । १२ औं ओभरमा जेइबले शानदार अर्धशतक बनाएर आउट भए ।
जनकपुर बोल्ट्सका किशोर महतोको बलमा बेलायती खेलाडी जेइब ६९ रन बनाएर आउट भए ।८ चौका र २ छक्काको मद्दतले उनले ४३ बलमा ६९ रन बनाए । १२ औं ओभरमै महतोको दुई वटा बलमा जेइबको क्याच छुटेको भए पनि अन्ततः तेस्रो पटकमा ललित राजवंशीले क्याच लिन सफल भएका थिए ।
त्यसको लगत्तै ११७ रनकै स्कोरमा सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारी पनि ४२ रन बनाएर आउट भएका थिए । १३ औं ओभरमा ललित राजवंशीले उनलाई क्लिन बोल्ड गरेका थिए । भण्डारीले ३१ बलमा १ चौका र ३ छक्काको मद्दतले ४२ रन बनाएका थिए ।
त्यस पछि १५ ओभरमा आक्रामक देखिएका हरमीत सिंह पनि मोहम्मद मोहशिनका सिकार भए । मोहशिनको बलमा छक्का प्रहार गर्न खोजेका सिंहको बल हेमन्त धामीको हातमा क्याच समातिएको थियो । सिंहले एउटा छक्काको मद्दतले ८ बलमा १४ रन बनाएका थिए ।
त्यस पछि १६ ओभरमा जिम्मी निशमले सुदूरपश्चिमका ब्राण्डन म्याकमुल्लेनलाई पनि क्लिन बोल्ड गरेर पेभेलियन फर्काएका थिए । आक्रामक बन्न खोजेका म्याकमुल्लेनले १ छक्काको मद्दतले १२ बलमा १४ रन बनाएका थिए ।
१९ औं ओभरमा सुदुरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी स्पिनर मोहम्मद मोहसिनका सिकार भएका थिए । छक्का हान्ने प्रयासमा ऐरीले हेमन्त धामीलाई क्याच थमाएका थिए । ७ बलमा ९ रन बनाएर उनी आउट भए ।
सोही ओभरमा मोहसिनले सुदूरपश्चिमका अर्का ब्याट्सम्यान आरिफ शेखलाई पनि पेभेलियन फर्काउन सफल भएका थिए । ३ बलमा १ रन बनाएका आरिफले आफ्नो बल ललित राजवंशीको हातमा थमाएका थिए ।
२० औं ओभरमा न्युजिल्यान्डका स्कट कुगेलिन किशोर महतोको बलमा आउट भएका थिए । १० बलमा १३ रन बनाएका कुगेलिनलाई महतोले क्लिन बोल्ड गरेका थिए ।
२० औं ओभरमै महतोले नरेश बुढाऐरलाई आउट गरेका थिए ।
२ बलमा एउटा छक्काको मद्दतले आठ रन बनाएका उनलाई तेस्रो बलमा महतोले आउट गरेका थिए । ३ बलमा ८ रन बनाएका उनलाई शेर मल्लले क्याच गरेर पेभेलियन फर्काएका थिए ।
२० औं ओभरको अन्तिम बलमा इशान पाण्डेले २ रन पुरा गरेर तेस्रो रन बनाउने क्रममा रन आउट भएका थिए ।जनकपुरका लागि मोहम्मद मोहशिन र किशोर महतोले सर्वाधिक ३/३ विकेट लिए भने ललित राजवंशी र जिमी निशमले क्रमशः १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम स्तब्ध
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश