लिस्बन। पोर्चुगलमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गर्न आएको फ्रान्सस्थित नेपाली दूतावासको टोलीले कन्सुलर सेवा पनि दिन सुरु गरेको छ। टोलीले बुधबारदेखि लिस्बनस्थित ओलाइसमा सञ्चालित घुम्ती शिविरबाट कागजात प्रमाणीकरणलगायत कन्सुलर सेवा दिन सुरु गरेको हो।
बुधबार पहिलो दिन एक सय पाँचवटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३९ वटा अन्य कागजात प्रमाणीकरण गरिएको टोलीले जनाएको छ। थप ३७ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि संकलन गरिएको छ।
प्रहरी रिपोर्टलगायत कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीको सहजताका लागि शिविर अवधि थप गरेर कन्सुलर सेवा दिन सुरु गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए।
टोलीले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत सम्पूर्ण कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्ने राजदूत भट्टराईले बताए।
१२ डिसेम्बरदेखि सञ्चालन भएको राहदानी वितरण शिविरबाट बुधबारसम्म दुई हजार चार सय १० वटा विद्युतीय राहदानी वितरण गरिएको र बाँकी रहेका राहदानी वितरणको प्रक्रियामा रहेको उनले जानकारी दिए।
टोलीले डिसेम्बर २१ तारिखसम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ। घुम्ती शिविरमार्फत राहदानीसँगै कन्सुलर सेवा पाउँदा विशेषतः यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड)का लागि बायोमेट्रिकको प्रक्रियामा रहेका नेपालीहरू बढी लाभान्वित भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै
पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त