काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न २० वटा समूह गठन भएको छ । पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’का अनुसार १६ वटा मूल दस्तावेज पेस भएका छन् । ती प्रतिवेदनका सन्दर्भमा फरक मत राख्दै १५ वटा प्रस्ताव प्रस्तुत भएका हुन् ।
३१ वटै दस्तावेजमाथि छलफल गर्न २० वटा समूह गठन गरिएको हो । आइतबार र सोमबार समुहगत छलफल सकाएर मंगलबारदेखि समीक्षा सुरु गर्ने तयारी छ ।गत शुुक्रबार पार्टीका संयोजक मोहन वैद्यले मूल राजनीतिक दस्तावेज पेस गरेका थिए । वैद्यको दस्तावेजमा संघर्ष, एकता र रूपान्तरणको विषयलाई समेटिएको छ । जनवादी केन्द्रीयता बहुमतलाई मानेर जानुपर्ने पद्धतिलाई पनि अपनाइएको उल्लेख छ ।
शनिबार संयोजक वैद्यले मूल राजनीतिक दस्तावेजको काउण्टरमा सन्त बहादुर नेपालीले राजनीतिक दस्तावेज ल्याएका छन् । पार्टीभित्र पूर्वमाओवादी र पूर्वमसाल धार छ । दुई धारका नेताहरूले प्रत्येकजसो विषयमा आ–आफ्नो दस्तावेज ल्याएका कारण दस्तावेजको संख्या नै ३१ पुगेको हो ।
नेताहरूका अनुसार खास तीन विषयमा दुई समूहबीच फरक मत रहेको छ । पार्टीले माओवाद नै मानेर जाने कि माओविचारधारा भनेर जाने भन्ने विषयमा बहस छ । जनयुद्धको समयमा भएको कमिकमजोरीको समीक्षा गर्ने र नेपालले हाल अवलम्बन गरेको संघीयताको मोडेलको सुधारको प्रस्तावबारे फरक फरक मत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आज
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
मङ्सिरमा महाधिवेशन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय