यु-१९ एसिया कप : दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०८१, ०७ : २३
यु-१९ एसिया कप : दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित नेपाल दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार आइतबार बिहान १०ः४५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। उपकप्तानमा अर्जुन कुमाल रहेको टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

यु-१९ टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन हुन्। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

प्रतिक्रिया दिनुहोस