‘बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०८१, १० : ५९
‘बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित

काठमाडौं । ‘बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ । बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी उचाल्यो ।

चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरे ।

उक्त अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार २०८० र सोही वर्षको विशेष चलचित्र पुरस्कार वितरण गरियो । कर्णालीकी एक निःसन्तान महिलाको कथा पेश गर्ने फिल्म ‘बुलाकी’ले सबैभन्दा धेरै ३ विधा जित्दा ‘दिमाग खराब’ दुई विधामा उत्कृष्ट ठहरियो । राष्ट्रिय चलचित्र पुरस्कार जित्ने सबै फिल्मले २५/२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

राष्ट्रिय फिल्मको जुरीमा यसपटक बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशिल पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशंकर धुजु, सबनम मुखिया र दीपा पाण्डे बस्नेत छन् ।

 

प्रतिक्रिया दिनुहोस