ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
यसअघि नेपालबाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
उनका अनुसार मंगलबार मात्रै एक दर्जन बढी विदेशी नागरिक पाथीभरा पुगेका छन् । नेदरल्याण्डसहित अन्य ठाउँबाट आएका पर्यटकहरूले पाथीभरामा पूजाआजासँगै यहाँबाट देखिने हिमालको अवलोकन गरेर रमाएका उनको भनाइ छ ।
मंगलबार नेदरल्याण्डका नागरिक लिएर पाथीभरा पुगेका जेआरएन ट्रेक एण्ड एक्सपिडिसनका गाइड रवि लामाले आफूले तेस्रो पटक पाथीभरामा विदेशी नागरिक लिएर आएको बताए । उनीसँग आएका पर्यटकले नेपालको धर्म र प्रकृतिलाई मन पराउने गरेको लामाले बताए ।
गत साउनदेखि कात्तिक मसान्तसम्ममा चार सय ७८ जना विदेशी नागरिक पाथीभरामा आएका छन् । यसमा सबैभन्दा बढी भारतबाट आएका काफ्लेपाटीस्थित पर्यटक सहायता प्रहरी कक्षका प्रहरी सहायक निरीक्षक शिशिर कोइरालाले बताए ।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाथीभराको प्रचारप्रसार प्रवर्द्धनसँगै विदेशी पर्यटकको चहलपहल बढेको पाथीभरा क्षेत्र विकास समितिको भनाइ छ । पर्यटकीय पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धन गर्दै गएमा दिनानुदिन बाह्य पर्यटकको संख्या बढ्दै जाने समितिले विश्वास लिएको छ ।
हरेक वर्ष स्वदेशी तथा विदेशी गरी लाखौं भक्तजनले आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ पाथीभराको दर्शन गर्ने गरेका छन् । पाथीभरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको शान्तिसुरक्षा तथा सहजताका लागि केही महिनाअघि देखि पाथीभरा पदमार्गमा पर्ने काफ्लेपाटीमा पर्यटक सहायता प्रहरी कक्ष स्थापना गरिएको छ ।
समितिद्वारा पाथीभरामा आउने भक्तजनको सहजताका लागि पाथीभरा पदमार्ग, यहाँका शौचालय, खानेपानी लगायतका भौतिक पूर्वाधारको स्तरोन्नति तथा निर्माण गर्ने कार्य जनाइएको छ । मन्दिर क्षेत्रमा सहज सञ्चार सुविधाका लागि इन्टरनेटसहितको टेलिफोन टावर निर्माण गर्ने र पदमार्गमा सोलार बत्ती जडानका लागिसमेत पहल भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
पाथीभरा मन्दिरमा २ महिनामा ६८ लाख भेटी सङ्कलन