काठमाडौ । चालू आर्थिक वर्ष (आव) २०८१-८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि विद्युत् निर्यात शुरू भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आम्दानी गरिरहेको छ ।
साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजारको विद्युत् निर्यात गरिएको छ । भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजारको विद्युत् निर्यात गरिएको छ । असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजारको विद्युत् निर्यात गरिएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोडको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो
आज १२ बजेभित्र काटिएको विद्युत लाइन जोड्न निर्देशन
प्राधिकरणले काट्न थाल्यो उद्योगको विद्युत लाइन
खोटाङमा ट्रान्सफरमर मर्मतपछि विद्युत सेवा सञ्चालन
एक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात
आज काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने