मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०८१, १० : ४९
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर

काठमाडौं।  बच्चा रोए, जिद्धी गरे भने वा बच्चालाई घरमा एक्लै छाडेर अभिभावक बाहिर निस्किनुपर्‍यो भने उनीहरूलाई मोबाइल थमाउने गरिन्छ। तर, यसले बच्चाहरूमा कति गम्भीर नकरात्मक प्रभाव पार्न सक्छ भन्ने कुरा अभिभावकहरूले ध्यान दिएको पाइँदैन।

आजकल स्मार्टफोन बच्चाहरूको जीवनको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ। बचपनदेखि नै उनीहरूलाई फोनको लत लाग्छ, जसलाई पछि छुटाउन निकै गाह्रो हुन्छ। यसले उनीहरूको स्वास्थ्यमा गहिरो नकरात्मक असर पुर्‍याउँछ। 

प्रायः हामी सोच्छौं कि मोबाइल प्रयोगले केवल आँखामा मात्र असर पुर्‍याउँछ। तर, यो मात्र होइन। यसको असर केवल आँखामा मात्र सीमित छैन। मोबाइल प्रयोगले बच्चाहरूको शारीरिक विकासमा पनि गम्भीर असर पर्न सक्छ। हालै गरिएको एक अनुसन्धानले यसलाई पुष्टि गरेको छ।

लामो समयसम्म स्मार्टफोन वा ट्याब्लेटबाट निस्कने ब्लू लाइटको सम्पर्कमा रहने कारण हड्डीहरूको वृद्धि तेज हुन्छ र हड्डीहरूको उमेर बढ्न जान्छ। जसले समयभन्दा पहिले यौवनको आगमनको सम्भावना बढाउँछ। 

टर्कीको गाजी विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा. आयलिन क्लान्कले मोबाइलबाट निस्कने ब्लू लाइटले शारीरिक वृद्धि र विकासलाई कसरी प्रभावित पार्न सक्छ भन्ने देखाउने यो पहिलो अध्ययन भएको बताए। ब्लू लाइटको सम्पर्कमा लामो समयसम्म रहँदा शारीरिक विकास तीव्र हुन्छ।

जब बच्चाहरू ठूला हुन्छन्, तब तिनीहरूमा फिमर जस्ता लामो हड्डीहरू विकसीत हुन्छन्। जुन क्रमशः दुबै छेउबाट लामो हुँदै जान्छ। अन्ततः ती हड्डीहरू ठोस हुन्छन् र बच्चाहरूको शारीरिक वृद्धि रोकिदिन्छ। 

छोरीहरू १४ देखि १६ वर्षको उमेर बीचमा आफ्नो अधिकतम उचाइसम्म पुग्छन् भने छोराहरू १६ देखि १८ वर्षको उमेर बीचमा आफ्नो वृद्धि पूरा गर्छन्। तथापि, पछिल्ला अध्ययनहरूले छोरी र छोरा दुवैमा समयभन्दा पहिले यौवन वृद्धि हुने बताएका छन्।

मोबाइल प्रयोगले बालबालिकाहरूको हड्डी चाँडै परिपक्व हुन्छन्, जसका कारण उनीहरू आफ्नो सामान्य लम्बाइभन्दा छोटा हुन सक्ने जोखिम रहेको अध्ययनहरूले देखाएका छन्।

प्रतिक्रिया दिनुहोस