काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसाबले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय कर दिवस—२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यावसायिक सङ्गठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गर्नुभयो । उहाँले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए ।
सूचना प्रविधिको प्रयोगमा बिस्तार एवं सोको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत न्यून हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशील हुनका लागि कर प्रशासनलाई उनले निर्देशन दिए । उपप्रधानमन्त्री पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तयार हुनसक्ने बताए ।
उनले कर सङ्कलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरूलाई निर्देशन दिए । सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार भएपनि सो अनुपातमा राजश्व सङ्कलन बढ्न नसकेको बताउँदै उनले जिम्मेवार र जबाफदेही हिसाबले राजश्व सङ्कलनको काममा केन्द्रित हुन कर्मचारीहरूलाई निर्देशन दिए । २०८० असोज र २०८१ असोजको कार्य सम्पादन सूचकहरूको प्रगतिको अवस्था मूल्याङ्कन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति भएको पाउन नसकेको बताए ।
बजार अनुगमनको सङ्ख्या गत वर्षको जारी अवधिको भन्दा पनि न्यून रहेको बताउनु भयो । बक्यौता असुली, बेरुजु फर्स्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति पनि सन्तोषजनक नरहेको उनले बताए ।
उपप्रधानमन्त्री पौडेलले सरकारप्रति नागरिकको अपेक्षा बढ्दो क्रममा रहेको बताए । सामाजिक सुरक्षा, विकास निर्माण, सङ्घीयता कार्यान्वयन, अन्य अनिवार्य दायित्वका खर्चहरूले श्रोतमाथिको दबाब बढिरहेको बताए
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ मंसिर २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु
विचाराधीन विधेयक छिटो टुंग्याउने काम होस् : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने