७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह

सफल खबर संवाददाता

शुक्रबार, ३० कार्तिक २०८१, १४ : ५७
७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह

काठमाडौं। विराटनगर स् उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताएका छन् ।नेपाल प्रेस युनियन मोरङले शुक्रबार  विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।  

‘७ बुँदे सहमतिअनुसार नै सरकार अघि बढेको छ । सो सहमतिअनुसारनै सरकार सञ्चालन हुन्छ,’ उनले भने, ‘सरकारले नागरिकको आकांक्षालाई केन्द्रमा राखेर काम अघि बढाएको छ । धेरै काम भएका छन्, केही हुँदैछन् । केही पनि भएन भन्ने होइन ।’

उनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा भएको प्रगति हेर्न आग्रह गर्दै सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइनसकेको बताए ।

संविधान संशोधनका विषय  सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाइ थियो ।

उनले कांग्रेस एमाले गठबन्धनको सरकार बनेपछि लामो समयदेखि अन्योलमा रहेको टीआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारबाही अघि बढेको बताए ।

उनले सरकारले नागरिकको चाहना पूरा गर्ने गरि काम गरिरहेको र परिणाम आउन केही समय लाग्ने पनि प्रस्ट्याए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले कोशी अञ्चल अस्पतालको निर्माणाधीन भवनको सरोकारवालाहरूसहित निरीक्षण गरेका छन् । कोशी अञ्चल अस्पताल परिसरमै निर्माणाधीन ५ सय शय्याको अस्पताल निर्माणको गति सुस्त देखिएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘अस्पताल भवनको निर्माण समयमै सक्ने गी काम गर्नुस् । प्रभावकारी रूपमा निर्माणको काम हुनुपर्छ ।  जनतालाई छिट्टै सेवा प्रवाह हुनुपर्छ,’ उनले भने, ‘निर्माणका क्रममा केही समस्या भए भन्नुस् । मन्त्रालयले,सहजीकरण गर्नेछ । तर, काममा ढिलाई गर्ने, कन्ट्राक्टअनुसार काम भएन भने सोच्नुपर्ने अवस्था आउन सक्छ ।’

०७९ पुस १३ गतेबाट निर्माण शुरू भएको अस्पतालको ०८२ पुस १२ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

शुक्रबार र शनिबार दुई दिन विराटनगरमा रहँदा उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयअन्तर्गत भएको कामको निरीक्षण र राजनीतिक भेटघाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस