बाँके। बाँकेमा कोदोको उत्पादन परीक्षण सफल देखिएको छ । कोहलपुरमा रहेको सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा गरेको कोदोको उत्पादन परीक्षण सफल भएको हो ।
गत साउन महिनामा रोपिएको कोदो अहिले चिसापानीस्थित गाभर भ्यालीमा लहलह झुलेको अवस्थामा देख्न पाइन्छ । पहाड र हिमालमा मात्रै उत्पादन हुने कोदो तराईको बाँकेमा पनि फलेको देख्दा स्थानीयलाई आश्चार्य लाग्न थालेको छ ।
'कोदो तराईका जिल्लामा उत्पादन गर्ने योजनाका साथ परीक्षण गर्नका लागि हामीले साउनमा रोप्यौँ, अहिले कोदोको बाला लहलह लागेर काटने बेला भएको छ र स्थानीयले पनि अनौठो मानेका छन्', सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतले भने । उनले नौ प्रजातिका कोदोको बीउ रोपेकामा एक–दुई प्रजातिबाहेक अन्य सबै राम्रोसँग फलेको जानकारी दिए ।
स्थानीयको डेढ कट्ठा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न स्थानीय प्रजातिको बीउ परीक्षणका लागि रोपिएको जानकारी दिँदै बस्नेतले उत्पादन परीक्षण सफल भएकाले उत्साहित भएको बताए । उनका अनुसार पाँच प्रजाति जिन बैंककले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका जात छन् ।
उनले नार्कका प्राविधिकको सल्लाहमा तराईका अन्य स्थानमा रोप्न मिल्नेगरी यसको बीउ सिफारिस गर्ने योजना बनाएको समेत जानकारी दिए । नार्कका प्राविधिकको सिफारिसअनुसार तराईका जिल्लामा किसानलाई कोदो रोप्न प्रेरित गरिने बस्नेतको भनाइ छ ।
उनका अनुसार परम्पारगत बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको उत्पादन परीक्षण गरिएको हो ।
२०७८ मा चिसापानीको गाभर भ्यालीमा पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको जिन बैंकका सचिवसमेत रहेका घरबास सञ्चालक संघका महासचिव कृष्ण चौधरीले बताए । गाभर भ्यालीमा कोदो उत्पादनको प्रशस्त सम्भावना रहेको देखिएकाले यहीँबाट परीक्षण उत्पादन शुरू गरिएको र सफल भएको उनको भनाइ छ ।
जिन बैंकले तराईमा कोदोको मात्र उत्पादन नगरेर रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ कार्तिक २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ९३७ मेट्रिक टन कोदो उत्पादन
असिनापानीले ३ सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
एसियनले ल्यायो कोदोको बिस्कुट, दसैंतिहार अगाडि नै भारतीय बजारमा निर्यात गर्ने लक्ष्य
तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण
कोदो : उत्पादन घट्दै, माग बढ्दै
पूर्वीनाकाबाट ८५ करोडको कोदो आयात