संखुवासभा। सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठको परिवारले रु २० लाख प्रदान गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई रु २० लाखको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम गरिब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गरिनेछ ।
नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षय कोषका रूपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरूको उपचार गरिने बताए ।
यसअघि श्रेष्ठका पाँच दाजुभाइले दिवंगत बुवाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न रु ५० लाख नगद र छ रोपनी जग्गा नि:शुल्क दान गरेका थिए । तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक चार हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् ।
वार्षिक छ सय बढीको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्ने गरेको आँखा उपचार केन्द्रले जनाएको छ । केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ कार्तिक २०८१, १४ : ०१
लेखकबाट थप