काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति अदालतमा पेस गरिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिने भएको हो ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
सभापति लामिछानेलाई म्याद थपका निम्ति अदालत पेस गर्ने तयारी हुँदै गर्दा रास्वपाले भने आज पोखरा लक्षित प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका निम्ति रास्वपा नेताहरू राजधानीसहित विभिन्न स्थानबाट पोखरा केन्द्रित भइरहेका छन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछानेको बयान भने पुरा भएको छ । लामिछानेसँग अनुसन्धान अधिकृतहरूले ९ दिनसम्म बयान लिएका थिए । उनको बयान ४५ पेज लामो रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । बयानमा लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन ।’
लामिछानेसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
आजदेखि रास्वपाको सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’
प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश
रवि लामिछाने संसदीय दलको कार्यालय जाँदै, सभामुखलाई भेट्ने
रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
रास्वपाको सचिवालय बैठक बस्दै