पोखरा । चीनसँग जोडिएको मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय खुलेको छ । गृहमन्त्री रमेश लेखकले बुधबार बिहान नाकामा खुलेको कार्यालयको उद्घाटन गरेका छन् ।
लोमान्थाङ गाउँपालिकामा पर्ने कोरला नाकामा बनाइएको एक तले अध्यागम कार्यालय र सशत्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको गृहमन्त्री लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव कोकर्णमणि दुवाडीसहित उद्घाटन गरे ।
अध्यागमन कार्यालय नाकामै सञ्चालनमा ल्याइएको छ भने लोमान्थाङ–१ छोसेर नेचुङमा २ तले ५५ कोठे भवन बनाइएको छ । नेचुङमै यसअघिदेखि नै भन्सार कार्यालय सञ्चालनमा छ । नगन्यमात्रामा स्थानीयमात्र किनमेलका लागि जाने भएकाले त्यहाँबाट सामान्य राजस्व उठ्ने गरेको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायतको टोली पनि कोरला पुगेको छ ।
गृहमन्त्री लेखक र गण्डकीका मुख्यमन्त्री पाण्डे बिहान हेलिकप्टरमार्फत कोरला नाका पुगेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अहिले व्यापारका लागि स्थानीयमात्र चीनतर्फ जाने गरेका थिए ।
‘अध्यागमन कार्यालय खुलेको छ, अब अरु नागरिक पनि चीनतर्फत जानका लागि सहज हुने छ, त्यसको सुरुवात केही दिनमा हुने छ,’ सीडीओ भुसालले अनलाइनखबरसँग भने, ‘नेपाल सरकारबाट गत साल नाकामा १ हजार रोपनी जग्गा अध्यागमन कार्यालयका लागि आएको थियो ।’
गण्डकी प्रदेश सरकारको करिब ५० लाख लगानीमा एसवाई प्यानल प्रयोग गरेर अध्यागमन कार्यालय निर्माण भएको भुसालले जानकारी दिए । गत वर्ष कोरलानाकामा अस्थायी रुपमा इमिग्रेसन कार्यालय स्थापना गर्न गण्डकी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरी ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको थियो ।
२ वर्षअघि निर्माण सुरु भएर झण्डै साढे ६ करोड रुपैयाँको लागतमा नेचुङमा २ तलाको ५५ कोठे बीओपी भवन निर्माण भएको छ । अहिलेसम्म चीनले नै उपलब्ध गराएको कन्टेनरमा अध्यागमन लगायतका कार्यालयको काम हुँदै आएको थियो । चीनतर्फ तिब्बती क्षेत्र लिजीमा भने ठूला–ठूला संरचनासहितको भव्य सहर नै निर्माण भइसकेको छ ।
चीनमा किनमेलका लागि जान १२ सयभन्दा धेरै स्थानीयलाई पास उपलब्ध गराइएको र उनीहरु व्यापारका लागि आउ–जाउ गरिरहने जिल्ला प्रशासन कार्यालय मुस्ताङको भनाइ छ ।
चीनतर्फ भव्य सहर नै बनिसक्दा पनि नेपालतर्फ सुनसानजस्तै थियो । अध्यागमन कार्यालय निर्माण भए पनि अब क्यारेन्टाइन निर्माणको काम बाँकी नै रहेको भुसालले जानकारी दिए ।
व्यापारका लागि चीन तयार भइसकेको भए पनि नेपालतर्फ नाका केही टेन्ट टाँगेर खुद्रे पसल सञ्चालन हुँदै आइरहेको छ । नकामा संरचना निर्माणका लागि डिपिआरसमेत तयार भएको भुसालले जानकारी दिए ।
नाका उद्घाटन गर्न पुगेका गृहमन्त्री लेखकलाई मुस्ताङका ५ वटै स्थानीय तहले ज्ञापन पत्र बुझाएका छन् । सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेकाले यो व्यवस्था हटाउन उनीहरुले माग गरेका हुन् ।
निषेधित क्षेत्र प्रवेशमा विदेशी पर्यटकले ५ सय डलर तिर्नुपर्दा पर्यटन क्षेत्रले उल्लेख्य प्रगति गर्न नसकेको स्थानीयको भनाइ छ । बोर्डरका लागि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको दरबन्दी रहेको सिडिओ भुसालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ कार्तिक २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
पूर्वाधारको पर्खाइमा मुस्ताङको कोरला नाका
सबै मुस्ताङबासीका लागि खुला भयो कोरला नाका
चीनले कोरला नाकाबाट सीमावर्ती पालिकालाई पठायो राहत
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउँदै
आजदेखि सञ्चालनमा आउँदैछ मुस्ताङको कोरला नाका