रामेछाप । रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रुपमा गरेसँगै रामेछापतर्फको भाग भने जोडिइसेकेको छ ।
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र पक्की आधा पुल (रामेछापतर्फ) बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौंसम्मको छोटो दूरीको सडकमार्गको सञ्जाल टुटेको थियो ।
अब केही दिनमा नै यातायात सञ्चलन गर्न मिल्नेगरी तीव्र गतिमा काम भइरहेको र सोका लागि आवश्यक कच्चापदार्थ र अन्य व्यवस्थापनका कामका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइराज्यमन्त्री पूर्णबहादुर तामाङले विशेष पहल गरिरहेको रामेछाप नगरपालिकाका प्रवक्ता एवं सुकाजोरका वडाध्यक्ष समीर कार्कीले बताए ।
उक्त पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता विछ्याउने र लेवल मिलाउनेलगायत अन्य काम भइरहेका छन् ।
पुल निर्माण सम्पन्न भए पनि पुल वारी मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रुपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था छैन । एकतर्फी रुपमा भने सावधानीपूर्वक सञ्चालन गर्न सकिने स्थानीय पशुपति न्यौपानेले बताए ।
खुर्कोटको पुल बगाएपछि रामेछाप र दोलखावासीलाई तराईका विभिन्न भागमा आवतजावत गर्न र खाद्यान्न ढुवानी गर्नका लागि रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने सित्खाको पुलमार्फत वैकल्पिक सडकमार्ग प्रयोग गरी आवतजावत गर्ने व्यवस्था मिलाइएको भए पनि उक्त बाटोमार्फत ल्याइएका खाद्यान्न सामग्री महङ्गिएको थियो ।
यसअघि बीपी राजमार्ग सञ्चालन हुनुपूर्व रामेछापको सदरमुकाम मन्थलीलगायत आसपासका क्षेत्रबाट काठमाडौं आवतजावत गर्न मन्थलीबाट चरिकोट–मुडे हुँदै धुलिखेलको वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए । नेपाली सेनाका अनुसार अबको तीनदेखि पाँच दिनभित्रबाट मात्र पुलबाट सवारी अवागमन गराउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेडारी खोलामा पक्की पुल निर्माण
हुलाकी राजमार्ग : कालिया खोलामा पुल नहुँदा समस्या
बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
नारायणगढ-मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
रिडी–वामी सडकमा २२ करोडको लागतमा चार स्थामा पक्की पुल बन्दै