बालविवाहको आरोपमा चिनियाँ नागरिकसहित ८ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १६ : ०४
बालविवाहको आरोपमा चिनियाँ नागरिकसहित ८ जना पक्राउ

काठमाडौं।  सुनसरीको वराहक्षेत्रमा १८ वर्षीय नेपाली किशोरीको चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने ५ जना नेपाली रहेका छन् । उनीहरूको परिचय प्रहरीले गोप्य राखेको छ ।​​

किशोरीको उमेर १८ वर्ष मात्रै भएकाले संलग्न सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।​​​ विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ मा  २० वर्ष नपुगी विवाह गर्न/गराउन नपाउने उल्लेख छ । साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ।

'नेपाली युवतीसँग विवाह गर्नुको कारण खुलेको छैन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'घटना शङ्कास्पद छ । लमीको प्रयोग गरेर नै विवाह गर्न खोजिएको छ ।’ ​व्यापार व्यवसायसँग जोडिएर नेपाली युवतीहरूसँग चिनियाँ नागरिकले विवाह गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस