बालविवाह रोक्न बालिका बीमा कार्यक्रम

रासस

बुधबार, २३ असोज २०८१, १६ : १०
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम

रूपन्देही । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो । 

गाउँपालिकाका बालिकालाई प्रोत्साहन, छोरीको शैक्षिक विकास, तथा बालविवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बीमा योजना निर्देशिका २०८१ मा उल्लेख भए बमोजिम पालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । 

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बालिका बीमा कार्यक्रम ई–बोलपत्रबाट खोलेर सम्झौता गरिएको बताए । उनले बालिकालाई शिक्षित बनाउन र बालविवाह रोक्नका लागि बीमा कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उपप्रमुख कृष्णप्रसाद पोख्रेलले बालिका बीमाले गैडहवामा जन्मिएका बालिकाको अभिभावक (बुबा वा आमा) को जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बीमा गरिएको बताए ।

 उनले २० वर्षभित्र बालिकाको बुवा बाआमाको दुर्घटना वा अन्य कुनै कारणबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिसमा बालिकालाई एकमुष्ठ भुक्तानी गरिने जानकारी दिए । सम्झौतापत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा र निजहरुले रिफर गरेका स्वास्थ्य संस्थामा छोरी जन्मिएकालाई मात्र यो बीमा योजनामा आबद्ध गराउनुपर्ने छ । 

कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । बीमा कम्पनी र पालिकाबीचमा भएको सम्झौता अनुसार एकमुष्ठ २० वर्षका लागि गाउँपालिकाले बीमा गरेको र बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा शर्त राखिएको छ । 

प्रतिक्रिया दिनुहोस