बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

सफल खबर संवाददाता

सोमबार, २१ असोज २०८१, ०७ : ५०
बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

गोरखा । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुंगा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको मौलिकता र छुट्टै चिनारी थियो । 

पूरै गाउँलाई एकै ठाउँबाट सजिलै दृश्यावलोकन गर्न सकिने बारपाकका प्रत्येक घरको आँगनमा एकै प्रकृतिका ढुंगा छापिएका हुन्थे । सबैका आँगनको पर्खाल एउटै स्वरुपका ढुंगाले उठाइएका हुन्थे । बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुंगाले छाएका थिए । तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुंगाका घर देख्न मुस्किल पर्छ ।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले ढुंगाका अधिकांश घर एकै झट्कामा भत्काइदियो । घर भूकम्पले भत्काएपछि अधिकांशले परम्परागत शैलीको घर बनाउने कल्पनासम्म गरेनन् । ढुंगाले बनेका घर भुकम्प प्रतिरोधी हुँदैन भन्ने धेरैको मनमा पर्‍यो ।

उनीहरुले कङ्क्रिटको प्रयोग गरेर आधुनिक घर बनाए । परम्परागत घर बलियो नहुने लागेकैले कङ्क्रिटको प्रयोग गरी घर बनाएको स्थानीय सुशीला घले बताउँछिन् । 'बारपाकको चिनारी दिने पुरानो शैलीका घर बनाएर बस्न मन नभएको होइन तर फेरि ठूलो भूकम्प आयो भने सुरक्षित नहुने रहेछ जस्तो लाग्यो । पुरानो घरको मौलिकतालाई सम्झिरहेका छौँ, तै पनि हामीसँग कुनै विकल्प भएन,' उनी भन्छिन् । 

अहिले बनेका घर सुरक्षित भएपनि आधुनिक घरसँगै स्थानीय मौलिकता, सामाजिक, पारिवारिक सम्बन्ध कमजोर बनेको महसुस स्थानीयलाई छ । 'भौगोलिक बनावटअनुसार स्थानीयस्तरमा पाइने सामग्रीबाट बनेको घर नै उपयुक्त हुने रहने छ भन्ने लाग्छ । आधुनिक घर चिसो हुँदा स्वास्थ्यमा असर परेको अनुभूति छ,' उनले भनिन् । 

भूकम्पको कहाली लाग्दो क्षति सम्झँदा कतिपयलाई त्यतिबेला अहिलेको जस्तो पक्की घर भइदिएको भए धेरैले ज्यान गुमाउनपर्ने थिएन की भन्ने लाग्छ । अर्का स्थानीयवासी सुकबहादुर गुरुङ भन्छन्, 'भूकम्पका बेला अहिले जस्तो पक्की घर भए धेरैको ज्यान बच्ने थियो कि । मौलिकताभन्दा सुरक्षित हुने घर नै राम्रो होला ।'

प्रतिक्रिया दिनुहोस