आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, ०७ : ५४
आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले  शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको जानकारी दिइन् । हेटौँडाबाट पहिलो लटमा २०८ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनले जानकारी दिइन्। च्याङ्ग्रा भने मुस्ताङबाट ल्याएको छ । 

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस