बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

रासस

विहीबार, १० असोज २०८१, १२ : ०२
बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आएका छन् । 

“वर्षमा ४० जति च्याङ्ग्रा बिक्री हुन्छ,” उनले भने “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् । 

याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन् । दसैँ तिहारमा पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ । 

सडक यातायात र बजारको सुविधासँगै च्याङ्ग्रा पाल्ने पेशा व्यावसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड-४ घाराका पेमा छिरिङ गुरुङले बताए। “पहिले दसैँ तिहारका लागि एक महिना पहिले नै च्याङ्ग्रा हिँडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उनले भने “अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङ्ग्रा बिक्री भइरहेको छ ।”

तीन वर्ष पुरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ । बर्खामा समुन्द्री सतहदेखि छ हजार मिटर उचाइको हिमालको फेदमा पुग्ने च्याङ्ग्रा गोठहरू असोज लागेपछि बेशीतर्फ झार्ने गर्छन् । 

तीन/चार वटा घरले वार्षिक रूपमा रु. एक लाख पचास हजार ज्याला दिएर च्याङ्ग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरू च्याङ्ग्रा गोठाला बस्ने गर्छन् । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङ्ग्रा फार्म छन् । २० देखि ५० वटाको संख्यामा च्याङ्ग्रा पाल्ने कृषकहरूको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा.लालमणी अर्यालले बताए । 

उनका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङ्ग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यावसायिक च्याङग्रापालन भएको छ । यस वर्षको दसैँ तिहारका लागि मुस्ताङबाट च्याङ्ग्रा निकासी हुन थालेको छ । 

बुधबारसम्म तीन सय ९७ च्याङ्ग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरी सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताए । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । 

स्थानीय व्यापारीले गाउँका किसानहरूबाट खरिद गरेर जोमसोममा च्याङ्ग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका व्यापारीहरूले जोमसोममा खरिद गरेका च्याङ्ग्रा हिँडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् । 

बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङ्ग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष रु. २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङ्ग्रा निकासी भएको थियो । यसपालीको दसैँ तिहारका लागि १० देखि ११ हजार च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताए । मुगु र डोल्पाको च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बजार पठाउने गर्छन् । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरूले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रवर्द्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् । 

पिपिआर रोग विरुद्धको निःशुल्क खोप लगाउने व्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले परम्परागत रूपमा हुँदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिविधि गर्दै आएको छ । 

च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङ्ग्रालाई वन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताए । हिम चितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्ने समस्या र हिउँदको समयमा आहाराको व्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतीका रूपमा देखिएको किसान तथा कृषि प्राविधिकहरूले बताएका छन् ।