काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, १४ : ४८
काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन

काठमाडौं। गत साताको अविरल वर्षामा बाढी पहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारद्वारा घोषित राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच स्थानीय तहमा टोली खटिएको हो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक उमेशकुमार ढकालसहितको टोलीले शुरूमा बनेपा र पनौतीका १/१ परिवारलाई राहत रकम उपलब्ध गराएको थियो । काभ्रेपलाञ्चोकमा पीडित परिवारलाई स्थानीयस्तरमै राहत दिन टोली खटाइएको ढकालले बताए ।

 

 

 

 

 

 

 

 

उनका अनुसार पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको हो । सडक अवरुद्ध भएका कारण तेमाल गाउँपालिकामा खटाइएको टोली वैकल्पिक बाटोको खोजीमा रहेको जनाइएको छ ।

'स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर छिट्टै टोली पुग्नेछ,' सहायक प्रमुख जिल्ला अधिकारी सुवास पोडेलले भने । मृतकप्रति व्यक्तिले संघीय सरकारबाट रु दुई लाख नगद राहत पाउनेछन् । परिवारमा एकभन्दा बढी मृतकको हकमा रु दुई लाखमा रु एक लाख थपिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस