काभ्रेमा नागरिकता : २६ मुद्दा, नौ वटा नक्कली रद्द

रासस

विहीबार, १० साउन २०८१, १४ : १६
काभ्रेमा नागरिकता : २६ मुद्दा, नौ वटा नक्कली रद्द

काभ्रेपलाञ्चोक । एक वर्षमा झुटो विवरण पेस गरी नागरिकता लिएका २६ नागरिकविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षभन्दा दोब्बरबढी नागरिकतासम्बन्धी मुद्दा दर्ता भएको जनाएको हो । 

कार्यालयका अनुसार आव २०७९/८० मा नागरिकताका दश मुद्दा दर्ता भएको थियो भने आव २०७८/७९ मा ६ मुद्दा दर्ता थिए । जिल्लामा झुटो विवरण पेस गरी नागरिकता लिने बर्सेनि बढ्दै गएको घटनाक्रमले देखाएको हो । हाल नागरिकताको विषयमा पेस हुन आएका कागजातलाई गम्भीरतापूर्वक हेरेर र कतिपयको हकमा प्रहरी प्रतिवेदनसमेत मगाएर मात्रै प्रदान गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । उनका अनुसार गत वर्षमा भएका घटनाले प्रशासकलाई थप गम्भीर बनाएको छ । 

नयाँ नागरिकतामा पनि प्रशासनले प्रहरी प्रतिवेदन खोज्ने गरेको पाइएको छ । कार्यालयले १ वर्षको अवधिमा जिल्लाबाट १० हजार चार सय २९ नयाँ नागरिकता जारी गरेको जनाएको छ । नयाँ नागरिकताका लागि एक हजार दुई सय ७३ सर्जिमिन प्रहरी प्रतिवेदनसहित सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै, नागरिकको गोप्य चालचलनका लागि एक हजार १० सिफारिस गरिएको उसले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भने एक वर्षमा नौ हजार दुई सय २४ पुराना नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै, आमाको नामबाट १२ र ७ अङ्गीकृत नागरिकता  वितरण गरिएको छ । यस अवधिमा ५५ ले नागरिकता त्यागेका छन् भने ५३ गैरआवासीय नागरिकता जारी भएको छ । 

त्यस्तै, राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचिएका १९ हजार सात सय ७५ मध्ये एक हजार नौ सय ३४ वितरण भएका छन् । १७ हजार नौ सय तीनले राहदानीका लागि कार्यालयमा आवेदन दिएका थिए । पाँच सय तीन दलित–जनजाति तथा सात सय २४ ले नाबालक परिचयपत्र लिएका छन् । 

यसैबीच, एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी नौ वटा नक्कली नागरिकता रद्द गरिएको हो । तत्कालीन समयमा कार्यालयमा अधिकृत द्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा अधिकृत रामचन्द्र अर्याल भएका बेला जारी गरेका ११ थान नागरिकता रद्द गरिएको हो । उनका अनुसार रद्द गरिएका सबै नागरिकता २०७३/७४ मा जारी भएको पाइएको हो । 

खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामा नै रहेको बुझिएका छ । यस्तै, नागरिकता सनाखत गरेर विदेशीलाई समेत नागरिकता बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत)अर्याल र अधिकृत भूपेन्द्र पाण्डेय भने गत चैतमा धरौटीमा छुटेका थिए । 

Tags :  

प्रतिक्रिया दिनुहोस