साहित्यकार डा. अम्बिका अर्यालको ‘भावदीप’ बजारमा

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १५ : १३
साहित्यकार डा. अम्बिका अर्यालको ‘भावदीप’ बजारमा

काठमाडौँ । पद्मकन्या कलेज नेपाली विभाग प्रमुख समेत रहेकी साहित्यकार डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसंग्रह बजारमा आएको छ । नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसंग्रह पद्मकन्या क्याम्पस, डेनिस हलमा एक समारोहबीच बिहीबार लोकार्पण गरिएको थियो ।

नारी साहित्यकार एवम् समालोचकहरूद्वारा स्थापित ज्ञानचक्षु साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा अपेक्षा बास्तोला, सोनु श्रेष्ठ, दिया थापा, दर्शना थापा, प्रसिका गौतम, श्रीसा श्रेष्ठ, विद्या पौडेल, विपश्वी ढकाल, यमुना शाह, अस्मिता बस्नेत, सम्भवी ढकालसहित एघार जना कन्याहरूको हातबाट उक्त कृति लोकार्पण गरिएको थियो ।

नेपाली साहित्यमा नारी सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित प्रतिष्ठानको आयोजना भएकाले उक्त कार्यक्रमका अध्यक्ष, सञ्चालक एवम् समीक्षक पनि नारी स्रष्टाहरू नै रहेका थिए । समीक्षक द्वयमध्ये मनमाया पोख्रेलले नारी चेतनाका दृष्टिबाट र दिव्येश्वरी जोशीले शिल्प पक्षका आधार लोकार्पित कृतिको समीक्षा गरेका थिए भने डा. शान्तिमाया गिरीले विषयवस्तु र समसायिकताबारे प्रकाश पारेकी थिइन् ।

कृत समीक्षाका अन्तरालमा प्रतिष्ठानका तर्फबाट राधिका गुरागाईँ र रमा के. सी.ले लोकार्पित कृतिका मुक्तक वाचन गरेका थिए भने सहभागिका तर्फबाट साहित्यकार एवम् सञ्चारकर्मी द्वव हेम भण्डारी र भगवती बस्नेत साथै साहित्यकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठले पनि केही मुक्तक वाचन गरेका थिए । यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले शुभकामना मन्तव्य दिएका थिए ।

नेपाली उपन्यासमा नारी चेतना विषयमा विद्यावारिधि गरेकी र नेपाली विभाग, पद्म कन्या बहुमुखी क्याम्पसकी विभागीय प्रमुख डा. अर्यालका यसअघि अविश्रान्त (२०७५) उपन्यासलगायत आधा दर्जन जति समालोचना कृति प्रकाशित छन् । ‘भावदीप’ मुक्तक सङ्ग्रह सङ्गम बुक्स पब्लिकेसनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस