बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या

रासस

बुधबार, १६ असोज २०८१, १४ : ४८
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या

बरहथवा । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा दुई हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो ।

बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २९० घर पूर्णरुपमा नष्ट भएको छभने ५७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै, जिल्लामा एक हजार ६६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले जानकारी दिए ।

बलरा नगरपालिकाको ११ वडामा १०६ वटा घर पूर्ण रुपमा र २८२ घरमा आंशिक क्षति पुगेको छभने ५०८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहले जानकारी दिए ।

जिल्लामा क्षतिको विवरण सङ्कलन गरिरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । स्थानीय तह, विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राहत पुर्‍याउने काम गरिरहेको प्रजिअ अधिकारीले बताए ।

यस्तै, रामनगर गाउँपालिका–१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रुपमा र ९० घरमा आंशिक क्षति पुगेका छभने ३३० घर डुबानमा परेको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छभने १९० घर बाढीले डुबानमा पारेको छ।

बागमती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका–२, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छभने ११७ घर डुबानमा परेको छ ।

यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका–४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पुर्‍याएको छभने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिए ।