दाउन्ने सडक बुधबार बिहानैदेखि सञ्चालनमा, सवारी चापका कारण एकतर्फी खुलाइयो

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, ११ : ३२
दाउन्ने सडक बुधबार बिहानैदेखि सञ्चालनमा, सवारी चापका कारण एकतर्फी खुलाइयो

बुटवल। निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । गएराति मर्मतका लागि सडक बन्द गरिएको थियो ।

मर्मतपछि सडक पूणरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । रातको समयमा रोकिएका सवारी साधनको चापका कारण मर्मत भएको स्थानमा अहिले एकतर्फी रूपमा सवारी साधनलाई आवतजावत गराउँदै आइएको र चाप कम भएपछि दुईतर्फी सञ्चालन हुने उनले बताए ।

सडक पूर्णरूपमा मर्मत हुन नसकेकाले दिउँसोको समयमा सवारी साधन सञ्चालन गर्दै सडक छेउबाट मर्मतको काम हुने छ । पानी परेमा भने कुनै पनि बखत सडक अवरुद्ध हुन सक्ने एसपी फुयालले बताए । भासिएको सडक छेउको भित्तालाई फोडेर सडक फराकिलो पार्ने काम गरिँदै आइएको छ । सडक ४ मिटर भासिएको छ ।

सोमबार दिउँसो दाउन्ने पहाडस्थित खुर्सानी खोलामा सडकको पर्खाल भत्किएर विद्युतको हाइटेन्सन टावर ढलेपछि सडक भासिएको हो । यसैबीच, सडक छेउमा ढलेको विद्युत हाइटेन्सन लाइनलाई व्यवस्थित गर्नेबारे विद्युत प्राधिकरणसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस