नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकखण्डमा भोलिसम्म सवारी सञ्चालनमा रोक

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १४ : ०३
नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकखण्डमा भोलिसम्म सवारी सञ्चालनमा रोक

चितवन ।  नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्डमा भोलिसम्मका लागि सवारी आवागमनमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहिबारदेखि अविरल परेको वर्षाका कारण पहिरोको जोखिम कायम रहेको भन्दै यस सडकखण्डमा सवारी साधान आवागमनमा रोक लगाएको हो । प्रशासकिय अधिकृत अन्तिम सिंजालीले आज एक सुचना जारी गर्दै यस सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिए  ।

‘नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाईएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रुलाई सो सडकखण्ड हुँदै सवारी नचलाईदिनुहुन तथा यात्रा नगरि यथास्थानमै बसि सुरक्षित रहनुहुन अनुरोध छ’,प्रशासकिय अधिकृत सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ ।

पहिरोको जोखिम भएपछि यस सडकखण्डमा हिजो साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पनि सवारी आवगमनमा रोक लगाइएको थियो । तर, आज बिहान ठाउँ ठाउँमा पहिरो जाँदा यस सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । पानी नरोकिएपछि सम्भावित क्षतीलाई कम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले दिउँसो देखिनै सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको हो ।

आज बिहान मुग्लिन नागढुङगा सडक खण्डको मौवाखोला, घोप्टेभिर, नौँ किलोलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । हिजोदेखि रोकिएका सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् । काठमाण्डौँ तर्फ जान हिँडेका सवारी साधनलाई भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आँपटारीमा रोक्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस