अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, १३ : ३०
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ गरेको छ ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने ३० वर्षीय शंखर दाहाल र २५ वर्षीय नन्दु फुयाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, धरान उपमहानगरपालिका-१५ शिवगंगा बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ माथिल्लो देउराली बस्ने ३१ वर्षीय पर्वत दर्जी र सोही उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । 

कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले मझगाउँबाट ऐरीतर्फ जाँदै गरेको म.२ प ४२०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-२ रिमझिम बस्ने २५ वर्षीय सुनिल बुढाक्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राधापुर र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस