नेपालले अमेरिकासँग ३ खेलको टी-२० सिरिज खेल्ने

सफल खबर संवाददाता

शुक्रबार, ११ असोज २०८१, ०८ : ३८
नेपालले अमेरिकासँग ३ खेलको टी-२० सिरिज खेल्ने

एजेन्सी । नेपालले अमेरिकासँग ३ टी ट्वान्टी आई सिरिज खेल्ने भएको छ । अमेरिकाको टेक्ससमा हुने दुई देशबीचको क्रिकेट श्रृंखला १७ अक्टुबर देखि २० अक्टुबरसम्म हुने युएसए क्रिकेटले जनाएको छ । नेपाल र अमेरिकाबीच टी ट्वान्टी सिरिजको पहिलो खेल १७ अक्टुबर, दोस्रो खेल १९ अक्टुबर र तेस्रो खेल २० अक्टुबरमा हुनेछ । 

टी ट्वान्टी सिरिजपछि नेपालले अक्टुबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु सिरिज खेल्नेछ । नेपाली टोली अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी विश्वकप लिग टु ओडिआई सिरिज खेल्न अमेरिका जाँदै छ । दुवैं सिरिजका का लागि युएसए क्रिकेटले टिकट बिक्रीसमेत खुल्ला गरेको छ । 

यसैगरी, नेपाल, अमेरिका र स्कटल्याण्ड लिग टु सिरिजको पहिलो खेल अमेरिका र स्कटल्याण्डको बीचमा २५ अक्टुबरमा हुनेछ । दोस्रो खेल नेपाल र अमेरिका बीचमा २७ अक्टुबरमा, तेस्रो खेल नेपाल र स्कटल्याण्डबीच २९ अक्टुबरमा हुनेछ ।

चौथो खेल अमेरिका र स्कटल्याण्डबीच ३१ अक्टुबरमा, पाचौं खेल नेपाल र अमेरिकाको बीचमा नोभेम्बर २ मा र अन्तिम खेल नेपाल र स्कटल्याण्डको बीचमा नोभेम्बर ४ मा हुनेछ ।

हाल क्यानडामा रहेको नेपाली राष्ट्रिय टोली अक्टुबरको दोस्रो सातासम्म अमेरिका पुग्ने छ । लिग टु सिरिजमा नेपालले क्यानडासँगको दुवै र ओमानसँगको एक खेल गुमाएको थियो । नेपाल र ओमानबीचको अर्को खेल वर्षाले रद्द भएको थियो ।