काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको संसदको स्तर निकै तल रहेको महसुस भएको बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले सांसदहरुले गर्ने गतिविधि र देखाएको व्यवहारले संसदको स्तर निकै तल रहेको महसुस हुने बताएका हुन् ।
‘सांसदहरुको अभिव्यक्तिले के देखाउँछ भने अघिल्लो दिन खबरदार यसो भनिस् भने भनेको छ, भोलिपल्ट ऊ अर्को पक्षमा पुग्छ र त्यही कुरालाई हिजो खबरदार भन्दै थिइस् खै तैँले गरेको भन्छ, यसले हाम्रो स्तर कहाँ छ भन्ने देखाउँछ, जता बसे पनि एउटा जिम्मेवारी साथ व्यवहार गर्ने कुराले चाहिँ हाम्रो स्तर निकै तल छ भन्ने महसुस हुन्छ’, उनले भने ।
संसदमा विषय केन्द्रित छलफल भइदिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको सभामुख घिमिरेले बताए । ‘स्तरीय भए हुन्थ्यो, अझ व्यवस्थित भए हुन्थ्यो भन्ने लाग्छ, विषय केन्द्रित भइदिए हुन्थ्यो, त्यो विषयले केही दिन पाए हुन्थ्यो’, उनले भने ।
सभामुख घिमिरेले संसदीय समितिहरुले पनि राम्रो काम गर्न नसकेको बताए । समितिका बैठकमा कोरम नपुग्ने, सांसदहरुले राम्रो तयारी नगर्ने र समिति सभापतिहरुले धेरै समय नदिने समस्या पनि देखिएको उनको भनाइ छ ।
संसदीय समितिहरुले विधेयकमाथि राम्रोसँग छलफल गरेमा संसदको काम पनि धेरै सहज हुने घिमिरेले बताए । ‘ती कुराहरुको अभावमा संसद भद्दा हुन्छ, निर्णय, निस्कर्ष निकाल्न सक्दैन, निकालेका निस्कर्षहरु पनि प्रभावकारी र व्यवहारिक नहुन पनि सक्छन् । त्यसले गर्दा समितिको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ’, उनले भने ।
संविधान संशोधनबारे बृहत छलफल आवश्यक
सभामुख घिमिरेले सबै राजनीतिक दलहरुबीच बृहत छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
‘सबै राजनीतिक शक्तिहरु, राजनीतिक दलहरु ओपन भएर, आग्रहहरुलाई छोडेर, आवश्यकता हो कि होइन भन्ने कुराको महशुस गरेर अनि जाने वातावरण बनाउनु पर्छ’, उनले भने ।
संविधान संशोधनको विषयमा राजनीतिक दलहरु पक्ष विपक्षमा बाडिँदा भविष्यमा समस्या आउने सभामुख घिमिरेको भनाइ छ । ‘फराकिलो दृष्टिकोणका साथ हाम्रो देशको मूल कानुन, एउटा बेग्लै विगतको इतिहासबाट हामीले निर्माण गर्नसक्यौं । त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा अनुभवहरुलाई लिएर कसरी जाने भन्ने कुरामा सबै राजनीतिक शक्तिहरु, दलहरु, व्यक्तिहरु, विज्ञहरु एउटा त्यस्तो प्रयत्नमा ओपन भएर जानुपर्छ’, उनले भने ।
संविधान संशोधन गर्नुअघि संविधान कार्यान्वयनमा कति ध्यान दियौं भन्ने पनि ख्याल गर्नुपर्ने उनले बताए । संघीय सरकारले आवश्यक कानुनहरु नबनाइदिएका कारण प्रदेशहरुले काम गर्न नसकेको र त्यही कारण संघीयतामाथि प्रश्न उठिरहेको उनले बताए ।
‘संविधानको समीक्षा गर्ने र यसलाई उपयुक्त ढंगबाट परिमार्जन गर्ने, संशोधन गर्ने, यो कुराहरु गर्नु भन्दा अगाडि यी हुन नसकेका कामहरुको बारेमा समीक्षा गर्नुपर्छ’, सभामुख घिमिरेले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
सभामुखले गरे प्रमुख दलका सचेतकहरूसँग छलफल
सभामुखले डाकेको छलफल निष्कर्षविहीन
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै