शुक्रबार पोखरामा मिनी सडक महोत्सव हुने

सफल खबर संवाददाता

विहीबार, १० असोज २०८१, १० : ४१
शुक्रबार पोखरामा मिनी सडक महोत्सव हुने

पोखरा । पर्यटन दिवसको अवसर पारेर पोखरामा असोज ११ गते अर्थात् शुक्रबार मिनी सडक महोत्सव हुने भएको छ ।रेस्टुरेन्ट एन्ड वार एसोसिएसन पोखरा (रेवान) को आयोजनामा मिनी सडक महोत्सव हुन लागेको हो ।

बेलुका साढे ४ बजेदेखि अम्बोटबाट बाराही चोकसम्म महोत्सव आयोजना गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले आन्तरिक र बाह्य पर्यटक पोखरा भित्राउन सहयोग पुग्ने उनको दाबी छ ।

पोखरा पर्यटन परिषद्ले यो वर्षको पर्यटन दिवस ४ दिन विभिन्न कार्यक्रम गरी मनाउन थालेको हो । पहिलो दिन बुधबार पोखराको पर्यटन राजधानी–नीति संवाद कार्यक्रम भएको छ ।

यस्तै, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित पर्यटकीय सङ्घसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई बाजागाजा सहित सम्मान गरेका थिए ।

बिहीबार टान गण्डकीको आयोजनामा पोखरा–मोरिया–लप्सीबोट–भुकदेउराली सम्मको पदयात्रा सुरु भएको छ । अन्तिम दिन पोखरा पर्यटन परिषद्कै आयोजनामा ‘पर्यटन र शान्त’ शीर्षकमा ‘टक सो’ हुनेछ ।

प्रतिक्रिया दिनुहोस