वासिंटन । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले आफ्नो जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताएका छन् । अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि उनको उक्त भनाइ आएको हो ।
“इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ,” उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखेका छन्, “इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ । म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु ।” उनले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गरे ।
ट्रम्पको प्रचार टोलीले मंगलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उनको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ । प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन् वा पहिले नै रिपोर्ट गरिएका खतराहरू हुन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन ।
“आज राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले राष्ट्रपति ट्रम्पलाई अमेरिकामा अस्थिरता र अराजकता फैलाउने प्रयासमा उहाँको हत्या गर्ने इरानको वास्तविक र विशिष्ट खतराका बारेमा जानकारी दिएको थियो,” प्रचार सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्तिमा भने, “गुप्तचर अधिकारीहरूले यी निरन्तर र समन्वित आक्रमणहरू पछिल्ला केही महिनामा बढेको पहिचान गरेका छन् र सबै एजेन्सीका कानून कार्यान्वयन अधिकारीहरू राष्ट्रपति ट्रम्पको सुरक्षा र निर्वाचनलाई हस्तक्षेपबाट मुक्त राख्न काम गरिरहेका छन् ।”
प्रचार टोलीले यी दाबीबारे थप विस्तार गरेको छैन । विश्व नेताहरू इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको शत्रुतालाई व्यापक क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्न प्रयासरत रहेका बेला यी दाबी आएका हुन् ।
यस गृष्ममा ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ । पेन्सिल्भेनियामा भएको र्यालीमा एक बन्दुकधारीले गोली चलाएर एक व्यक्तिको मृत्यु र ट्रम्पलाई घाइते बनाएको घटनालगत्तै यो आरोप आएको हो ।
जुलाई १३ को हत्या प्रयासको केही दिनपछि अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूले रिपब्लिकनविरुद्ध कथित इरानी षड्यन्त्रबारे खुफिया जानकारी प्राप्त गरेको र यसले उनको सुरक्षा बढाइएको बताएका थिए । इरानले यी ‘दुर्भावनापूर्ण’ आरोपहरूलाई अस्वीकार गरेको थियो ।
“यदि उनीहरूले ‘राष्ट्रपति ट्रम्पको हत्या’ गरे, जुन सधैँ सम्भावना छ, म आशा गर्छु कि अमेरिकाले इरानलाई नष्ट गर्नेछ, पृथ्वीको सतहबाट मेटाइदिनेछ– यदि त्यसो भएन भने अमेरिकी नेताहरूलाई ‘कायर’ मानिनेछ,” त्यसबेला ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ असोज २०८१, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
नेतन्याहु र ट्रम्पबीच भेटवार्ता, यस्ता छन् प्रतिक्रिया
राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन
व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा