घरमा सुरुङ बनाइ चोरी गर्ने 'ग्याङ'का एकजना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०५ असोज २०८१, ०६ : ३९
घरमा सुरुङ बनाइ चोरी गर्ने 'ग्याङ'का एकजना पक्राउ

वीरगन्ज । दुई महिना अगाडि घरमा सुरुङ बनाएर  चोरी गरेको आरोपमा रौतहटबाट एकजना पक्राउ परेका छन् । गत असार २४ गते राती जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर  चोरी गर्ने ग्याङ्ग्का एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् । उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र राम नारायण साहको घरमा चोरी गरेका थिए । 

चोरहरूको समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरू चोरी गरेको प्रहरी नायब उपरीक्षक डिएसपी एलिजा गिरीले बताइन् । 

घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा हकको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी दाबी छ । उनलाई बडहर्वा पुल नजिक घुम्दै गरेको अवस्थाबाट पक्राउ गरेको डिएसपी गिरीको भनाइ छ । 

पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस