काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।
आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकत्ता औंल्याए ।
उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु । कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईं साँच्चै नेपाल र नेपालीहरुको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस । नेपाली जनता जान्न चाहन्छन् ।’ श्रमिकहरुले पठाएको रेमिट्यान्स कहाँ छ भनेरपनि उनले अहिलका शासकलाई सोधे ।
नेपालको अर्थतन्त्र धराशयी भएको र नेपालीहरुलाई विदेशमा कमाउने र विदेशमा नै आश्रित हुने बनाईएको भन्दै उनले आक्रोश पोखे । उनले भने,‘यहाँ ज्ञानेन्द्र शाहीजीले जुम्लाको स्याउको कुरा गर्नुभयो, अलिक माथि उठ्नुपर्यो । नेपालका सबै उत्पादन धराशयही बनाईयो । अनि विदेशी वस्तुमा निर्भर गरियो, किनकी यहाँको सरकार विदेशीको पक्षपोषण गर्ने छ । दलाल र भगौडाहरुको पक्षपोषण गर्नेछ । यसमा कहीँ कतै द्धिविधा नहोस भनेर म भन्छु । अहिले नेपालमा त नेपाली पोशाक, टोपी लगाउने अनि काम चाहीँ विदेशीको गर्ने भएको छ । यो छद्यमभेषी राजनीतिबाट बाहिर आउनुपर्छ ।’
पूर्वमन्त्री साहले अहिलेको संविधान स्वरूपमा खिचडी चरित्रको भएको दाबी गरे । उनले भने,‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होईन, विदेशीहरुको पक्षपोषण गरेको छ । यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन् । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होईन । यो संविधान र व्यवस्थाको लागि मैले ठूला ठूला लडाईं लडेको छु ।’
नेपालको बदलवाको लागि नेपाली जनताले विभिन्न आन्दोलन र जनयुद्धमार्फत ठूलो त्याग र बलिदानी दिएको उनले स्मरण गराए । त्यसमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनले भने–‘प्रभु साह भनेको एउटा जिउँदो सहीद हो । भाग्य र सञ्जोगले बाँचेको हुँ । यातनाको एउटा किताब हो–प्रभु साह । यातनाको एउटा कथा हो–प्रभु साह । म नेपाली सेनाको झण्डै वर्षौको यातनाको शिकार भएको हुँ । त्यतिवेला म बाँचेको हुँला भनेर कसैले पनि सोचेका थिएनन् । यसरी वर्षौ सेनाको हिरासतमा बिताएको र यातनाको एउटा ठूलो किर्तीमान कायम गरेको मान्छे हुँ, म नेपालको बदलावको लागि लडेको हुँ । म जतिवेला जनआन्दोलन, जनयुद्ध र विभिन्न आन्दोलनमा लडिरहेको थिएँ, तपाईंहरु के गर्दै हुनुहुन्थ्यो, दुनियाँले हेरिरहेको छ । म अन्तरिम संविधानदेखि अहिलेसम्म संसद्मा छु । म आक्कलझुक्कल जित्ने मान्छे होईन । ०६३ सालदेखि लगातार संविधान निर्माणको प्रोसेसमा छु । म देशमा बदलवाको लागि लडेको थिएँ । नेपाली जनताले देशमा लोकतन्त्रको लागि लडेका थिए । संघीयता र गणतन्त्रको लागि लडेका थिए । समावेशी–समानुपातिक प्रतिनिधित्वको लागि लडेका थिए । धर्मनिरपेक्षताका लागि लडेका थिए । त्यसको एंगेलबाट एकचोटी समिक्षा गर्नुभएको छ ? संविधानसभामा प्रभु साहको मेजर भूमिका थियो । म संविधान मस्यौदा समितिमा थिएँ । र, मैले राजीनामा दिएँ । राप्रपा पार्टी त्यतिवेला २० सिटको थियो । तर, संविधान जारी गर्दा हात्ती आयो हात्ती आयो फुस्स भयो । त्यसैले राप्रपालाई संविधानको विरोध गर्ने नैतिक आधार छैन् । म माओवादीबाट सदस्य थिएँ । माओवादी पार्टीको ह्वीप, आदेश तोडेर ६०१ सांसदमा एउटा प्रभु साह हो, जसले यो संविधानलाई भगौडा, दलालको पक्षपोषण गर्ने र देशलाई बर्बाद गर्ने र नेपाली जनताको संविधान होईन, यो त धोकाको दस्तावेज हो भनेर विरोध गरेको मान्छे हुँ । यसमा मैले सिग्नेचर गरेको छैन् । त्यतिवेला मैले कुनै राजनीतिक स्टण्ट गरिनँ । म व्यापार गर्न गईनँ । म बोर्डरमा गएर व्यापार गर्ने मान्छे होईन । म त देश र जनताको लागि रगत बगाएर आएको मान्छे थिएँ, देश र जनताको लागि संविधान बनाउन खोजेको थिएँ । तर, प्रचण्डले गद्दारी गर्यो, म गद्दारको शिकार हुन सक्दिनँ, त्यसको साक्षी बस्दिनँ भनेर सिग्नेचर गरिनँ, त्यसमा मलाई गौरव छ ।’
उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरे । उनले भने,‘मैले यो कुरा आज भनेको होईन, आजभन्दा १० वर्षअघि नै भनेको थिएँ । नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरु डोमिनेट छन् । हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरुको कारिन्दाको समारोह भनेको छु ।’
उनले नेपालमा निर्वाचन प्रणालीको विकृतिको कुरा उल्लेख गर्ने क्रममा समानुपातिक मतबाट को सांसद बन्छ भन्ने कुरा मत हालेका जनतालाई थाहा नहुनु जनताप्रति गद्दारी भएको दाबी गरे । यस्तै, संघीयतालाई पनि पहिचान र अधिकारविहीन बनाईएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हवाई भाडामा भएको लुटको अन्त्य हुनुपर्छः अध्यक्ष साह
सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो : प्रभु साह
आफ्नै मतदातालाई धोका दिने नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ : प्रभु साह
देश बचाउन तेस्रो जनआन्दोलनको आवश्यक्ता : प्रभु साह
विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह
बाढी प्रभावित परिवारको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई प्रभु साहको अपिल