मनकामना केबुलकार अब अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ गते देखि सेवा पुनःसुचारु

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, ०७ : ५९
मनकामना केबुलकार अब अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ गते देखि सेवा पुनःसुचारु

काठमाडौं । देशकै पहिलो यात्रुबाहक मनकामना केबुलकारको सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएसँगै असोज १ गतेबाट पुनः संचालनमा आउने भएको छ । 

मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना मन्दिरसम्म सञ्चालन गरिरहेको केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा उक्त प्रविधि स्तरोन्नति भएको हो । 

मनकामना केबुलकारले अत्याधुनिक प्रविधिमा रुपान्तरन गर्न गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताए । उनका अनुसार करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति गरिएको हो । अत्याधुनिक प्रविधिमा लैजान कम्पनीले केबुलकारको सेवा दुई महिना सम्म रोकेको जनाएको छ ।

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । 

मनकामना दर्शन प्रालि पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा नेपाल सरकारबाट पटकपटक सम्मानित भएको छ । मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यो क्रम
आगामी दिनमा पनि जारी राखिने छ ।  चाडपर्व नजिकिएसंगै भिडभाड हुने भएकाले केबुलकारको सेवा थप प्रभावकारी र सुरक्षित बनाइएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस