एसिड आक्रमण पीडितहरूको न्यायको लागि प्रतिबद्ध छौँ : सभापति लामिछाने

सफल खबर संवाददाता

मंगलबार, २५ भदौ २०८१, १३ : ००
एसिड आक्रमण पीडितहरूको न्यायको लागि प्रतिबद्ध छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएकाहरूले उपचार पाउन अझै जटिलता रहेको बताएका छन् ।

मंगलबार चौथो एसिड आक्रमणविरुद्धको अभियान दिवसका अवसरमा पीडित र सरोकारवाला निकायसँग  छलफल गर्दै  सभापति लामिछानेले  कानुनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताए ।

उनले  भने, ‘संसारका संसदहरुमा के छ  थाहा छैन, तर संसारकै पहिलो दुर्लभ प्रतिनिधिसभा सांसदको रूपमा रास्वपाको प्रतिनिधित्व गर्दै बिन्दबासिनी कंसाकार आउनु भएको छ । यो सामान्य कुरा मात्र होइन, एसिडको जलन वा पीडा अन्त्य गर्नका निम्ति कानुनी रूपमा उपचारको जटिलता अझै  कायम नै छन् ।

तर कानुनी उपचारको सुनिश्चितता गर्न एक एसिड आक्रमणबाट पीडित स्वयम कानुन बनाउने ठाउँमा पुगिसक्दा पनि जलन विधेयकलाई अगाडि बढाएर न्याय दिन नसके हामी सबैका लागि धिक्कार हुनेछ ।’साथै उनले देशले नै गर्व गर्ने ठाउँमा पुग्नका लागि धेरै काम गर्नुपर्ने बताए  । उनले एसिड पीडितहरूलाई न्याय दिनको लागि नै जलन विधेयक दर्ता गरेको समेत बताए ।

उनले  एसिड पीडितको न्यायको लागि आफू प्रतिबद्ध रहेको बताए । उनले  भने, ‘केही समय धैर्यतापूर्वक रहनुहोला । एसिड पीडितले अनुभव गरेका तिता इतिहासहरूलाई भोलिका दिनमा कसैले गर्न नपाउन भन्नकै लागि जलनबाट पीडा भोग्नु परेका सबैको हक र अधिकार दिलाउनको लागि हामी लडिरहेका छौँ । र एसिड पीडितको न्यायको लागि प्रतिबद्ध छौँ ।’

प्रतिक्रिया दिनुहोस