इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सुरु

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १३ : २८
इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सुरु

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि ग्रामीण भेगबाट नागरिकता वितरणको सेवा सुरु गरेको छ । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सहितको सेवा सुरु गरिएको हो ।

तीन वर्षदेखि बन्द रहेको इलाका प्रशासन कार्यालय सुपौलीको एक कार्यक्रमका बिच उद्घाटन गरिएका थिए ।  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कार्यालयको उद्घाटन गर्दै पुनः ग्रामीण क्षेत्रबाट नागरिकता वितरणसहितको सेवा सुरु भएको बताए ।

उनले इलाका प्रशासन कार्यालयबाट पासपोर्ट बाहेकको सेवा प्रवाह हुने बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार सुपौलीबाट नागरिकता वितरण, प्रतिलिपि वितरण, राष्ट्रिय परिचयपत्रसहित अन्य कागजात प्रमाणित गर्ने कार्य गरिनेछ ।

कर्मचारीको अभावमा ०७९ सालदेखि इलाका प्रशासन कार्यालय सुपौलीबाट गरिने सेवा प्रवाहको कार्यक्रम रोकिएको थियो ।  सेवा बन्द भएपछि जनतालाई सामान्य कामका लागि पनि सदरमुकाम धाउँदा धेरै सास्ती खेप्नुपर्ने बाध्यता बढ्दै गएपछि त्यसलाई मध्यनजर गरेर सेवा प्रवाहको काम सुरु गरिएको हो ।

सार्वजनिक सेवा जनताको घरदैलोमा पुर्‍याउने हेतुले जिल्ला प्रशासन कार्यालयबाट हुने कामको थालनी इलाका प्रशासन कार्यालयबाट गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।  एक जना अधिकृतसहित ७ जनाको टोली राखेर इलाका प्रशासन कार्यालयबाट सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । 

सुपौली इलाकाबाट नागरिकता वितरण सहितको सेवा सुरु भएपछि ४ वटा पालिकालाई प्रत्यक्ष फाइदा पुग्ने जनाइएको छ । ठोरी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकालाई प्रत्यक्ष फाइदा हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि  ०७५ सालको पुस महिनादेखि सुपौलीबाट सेवा सुरु भएपनि नागरिकता वितरणको काम भएको थिएन । 

उद्घाटन कार्यक्रममा पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलसहित अन्य सरकारी कर्मचारीका प्रतिनिधि एवम् राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

यसैबिच सुपौली इलाका स्थापनाका लागि जग्गा उपलब्ध गराउने चार जना जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मानित गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले जग्गाधनी प्रभु चौधरी, बिन्दु चौधरी, अनरकलिया गुरो र धर्मेन्द्र गुरोलाई सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस