युक्रेनसँग वार्ता गर्न रुस तयार छ : पुटिन

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १५ : ४२
युक्रेनसँग वार्ता गर्न रुस तयार छ : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए ।

युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार आक्रमण सुरु गर्‍यो र हजारौँ सैनिकलाई सीमापार पठाएर धेरै गाउँ कब्जा गर्‍यो । त्यस लगत्तै पुटिनले कुनै वार्ता हुन नसक्ने बताएका थिए ।

भ्लाडिभोस्टक सहरमा रुसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रमा उनले रुस वार्ताका लागि तयार रहेको तर सन् २०२२ मा इस्तानबुलमा मस्को र किएभका वार्ताकारहरूबिच रद्द भएको सम्झौताका आधारमा वार्ता हुने बताए । सार्वजनिक नगरिएको उक्त सम्झौताका सर्तहरू कहिल्यै पूरा भएनन् ।

“के हामी उनीहरूसँग वार्ता गर्न तयार छौँ ? हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ तर केही अल्पकालीन मागहरूका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्ताबेजहरूका आधारमा वार्ता गर्न तयार छौँ”, उनले भने ।

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै रुस र युक्रेन सन् २०२२ को वसन्तमा एउटा सम्झौताको नजिकमा पुगेको क्रेमलिनले बारम्बार दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस