२४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जाँदै छन् पुटिन

सफल खबर संवाददाता

मंगलबार, ०४ असार २०८१, ११ : १६
२४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा जाँदै छन् पुटिन

प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया जाँदै छन् । उत्तर कोरियाली नेता किम जोङ्ग उनको पछिल्लो रुस भ्रमणको समयमा उनले पुटिनलाई आफ्नो देशमा आउने निम्तो दिएका थिए । त्यतिबेला पुटिनले निम्तो सहर्ष स्वीकार गरेका थिए । तर उनी भ्रमणमा कहिले निस्कनेछन् भन्ने टुङ्गो थिएन । अब भने पुटिन छिटै उत्तर कोरिया आउन लागेको बताइएको छ ।

पुटिन मंगलबारै उत्तर कोरिया आउन सक्ने दक्षिण कोरियाली स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । उत्तर कोरियाले पुटिनको स्वागतका लागि भव्य तयारी गरिरहेको सेटलाइटबाट लिइएका तस्बिरले देखाएको बताइएको छ ।

रुसी राष्ट्रपति कार्यालयले पनि पुटिनको भ्रमणसम्बन्धी जानकारी सही समयमा सार्वजनिक गरिने बताएको छ । यसले पनि अनुमान चर्किएको छ । धेरैको चासो चाँहि यतिबेला पुटिन किन उत्तर कोरिया जान लागेका हुन् भन्नेमा छ ? पहिलो कुरा त पुटिन दोस्रो पटक उत्तर कोरियाको भ्रमणमा जान लागेकाले पनि उनको भ्रमणप्रति उत्सुकता जागेको हो ।

यसअघि उनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको पदभार सम्हालेपछि उत्तर कोरियाको भ्रमणमा गएका थिए । त्यतिबेला किम जोङ उनका पिता किम जोङ इल उत्तर कोरियाका सर्वोच्च नेता थिए ।

यी दुई देशबिच सम्बन्ध एक अर्कासँग मित्रता भन्दा पनि आपसी लाभको बनेको छ । यसले पश्चिमा मुलुकको चिन्ता बढाएको छ । तर, रुस र उत्तर कोरियाबीचको सम्बन्ध सोभियत संघको समयमा जुन स्तरमा थियो, त्यो अझै पनि छैन ।

रुस र उत्तर कोरियाको निकटताको अर्थ

रुस र उत्तर कोरियाबिच धेरै गहिरो सम्बन्ध विकास गर्ने सम्भावना रहेको रुसले बताएको छ । यतिले मात्रै त अरूको चिन्ता थपिन नपर्ने हो । दुई देशबिचको सम्बन्धलाई चुनौती दिन्छु भनेर सोच्नेहरूले फेरि सोच्नुपर्ने रुसको भनाईले चाँहि चिन्ता बढाइरहेको छ । रुस र उत्तर कोरियाले एक अर्काबाट के खोजिरहेका छन् भन्नेबारे निकै अड्कलबाजी भइरहेको छ । हतियार आपूर्ति नै मुख्य कुरा हो जस्तो देखिएको पनि छ ।

रुसले उत्तर कोरियाबाट गोला बारुद, निर्माण क्षेत्रका लागि मजदुर र आफु खुसी युद्धको मोर्चामा जान इच्छुकहरूको आपूर्ति चाहेको राजनीतिशास्त्री र पुटिनका सहयोगी सर्गेई मार्काेभ भन्छन् । यसको बदलामा उत्तर कोरियाले आफ्नो सैन्य उपकरण बढाउन रुसी उत्पादन र प्रविधि प्राप्त गर्न सक्छ । उत्तर कोरियाको लामो दुरीको मिसाइल कार्यक्रमका लागि रुसी प्रविधि पाउन सक्छ । उत्तर कोरियाको मिसाइल क्षमता अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमताको नजिक पुगेको छ ।

युक्रेनमा युद्ध जारी राख्न रुसलाई हतियार र गोला बारुद चाहिन्छ भन्ने कुरामा कुनै शङ्का छैन । दक्षिण कोरियाको रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै हालैको ब्लूमबर्ग रिपोर्टले उत्तर कोरियाले रुसलाई करिब ५० लाख तोपखाला पठाएको बताएको थियो । पश्चिमी देश र तिनका प्रतिबन्धहरूलाई घृणा गर्ने अनि आफूसँग व्यापार गर्न तयार साझेदार पाउनु रुसका लागि जरुरी छ ।रुस र उत्तर कोरिया विश्वमा सबैभन्दा धेरै प्रतिबन्धको सामना गर्ने देशहरू हुन् ।

आणविक हतियारको विकास र बारम्बार परीक्षणको नाममा ब्यालेस्टिक मिसाइल प्रहार गरेकोले पश्चिमी देशहरूले उत्तर कोरियामाथि यी प्रतिबन्ध लगाएका छन् । उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धको निगरानी गर्ने प्यानललाई विस्तार गर्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमाथि रुसले भिटो लगाएको  थियो । रुसको यो कदमले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धमाथि गहिरो आघात भएको थियो ।

मैत्रीपूर्ण कूटनीतिक कदम

रुस र उत्तर कोरियाका सर्वोच्च नेताबिच साँचो मित्रता पनि होला । यो मित्रता सावधानीपूर्ण र व्यावसायिक उद्देश्यका लागि पनि हुन सक्छ । फेब्रुअरीमा पुटिनले संयुक्त राष्ट्र प्रतिबन्धको विरुद्धमा गएर किम जोङ उनलाई विलासी कार उपहार दिएका थिए । हालै राष्ट्रपति पुटिनलाई पठाइएको सन्देशमा किम जोङ उनले उत्तर कोरिया रुसको ‘अजेय सहयोगी’ भएको बताएका थिए । दुई देश एक अर्काको  निकट आउनुको अर्को कारण व्यापारिक र विकल्पबिहीनता पनि हुन सक्छ । विश्वले रुसलाई अलग्याएको छ । यस्तोमा आफू जस्तै अर्को देश दक्षिण कोरियाको महत्त्व उसको लागि बढेको हो । यतिबेला रुसलाई पनि साथीको आवश्यकता छ भन्ने कुरा उत्तर कोरियाले पनि बुझेको छ ।

उत्तर कोरियाको भ्रमण गरेर पुटिनले आफ्ना विरोधीहरूलाई आफूले चाहेको कुरा गर्न सक्छु र गर्छु भन्ने देखाउन खोजेको पनि हुन सक्छ । उनको भ्रमण पछाडि अर्को उद्देश्य चाँहि पश्चिमी प्रतिबन्ध उल्लङ्घन गर्न र रूसलाई हतियार बेच्न अन्य देशलाई फकाउनु पनि हुन सक्छ । कम्तीमा सतही रूपमा यस्तै देखिन्छ । युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’ जारी रहँदा पुटिनले विश्वभर नयाँ नयाँ मुलुकसँग सम्बन्ध स्थापित गर्न खोजिरहेको देखिएको छ ।रुसी सेनालाई युक्रेनमाथि आक्रमण गर्न आदेश दिएदेखि नै पुटिनले पश्चिमी दबदबाको  युग समाप्त हुँदै छ भनेर प्रचार गरिरहेका छन् । उनी यो कुरामा सहमत भएका देशहरूलाई रिझाउने कोसिसमा छन् ।

सेन्ट पिटर्सबर्गमा भर्खरै भएको आर्थिक सम्मेलनमा राष्ट्रपति पुटिनका प्रमुख अतिथिमध्ये एक जिम्बाब्वेका राष्ट्रपति पनि  थिए । यो कुनै संयोग थिएन । जिम्बाब्वे पनि प्रतिबन्धको प्रभावसँग जुधिरहेको देश हो । आजभोलि रुस आफ्नो सुरमा सुर मिलाउन मित्र देश विश्वमा धेरै छन् भनेर देखाउन आतुर छ । एसियादेखि ल्याटिन अमेरिका र अफ्रिकासम्मै अमेरिकाको नेतृत्वमा रहेको संसारदेखि वाक्क दिक्क भएका देशलाई रुसले स्वागत गरिरहेको छ ।

आर्थिक सम्मेलनमा जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वाको मुखबाट पुटिनका चर्चित भनाई निस्किरहेको थियो । पुटिनले इरानसँग पनि मित्रता बढाउने प्रयास गरिरहेका छन् । इरानले पनि वर्षाैंदेखि पश्चिमी देशहरूको प्रतिबन्धको सामना गर्दै आएको छ । आफूले बनाएका हतियार र गोला बारुद बेच्ने क्रेता उसले हताश भएर खोजिरहेको छ । इरानबाट रुसले ड्रोन  किनिरहेको छ । यसले पश्चिममा हलचल पैदा गर्छ भने रुसको लागि यो झनै राम्रो कुरा हो ।

उत्तर कोरिया जान आफ्नो विमानमा चढ्दाका तस्बिरहरूले विश्वभरको ध्यान तान्नेछ भन्ने पुटिनलाई थाहा छ । आफूलाई चित्त बुझ्ने मित्र देशसँग मित्रता गर्न र सम्झौताहरू गर्न उनी सदैव तयार रहनेछन् भन्नेमा दुई मत छैन । उत्तर कोरियासँग मित्रता बढाउन रुसको प्रयासबारे चीनको आफ्नै आशङ्का हुन सक्छ । पाँचौँ पटक राष्ट्रपति बनेपछि पुटिन पहिलो विदेश भ्रमणमा चीन गएका थिए । सो भ्रमणमा सीसँगको भेटवार्तामा उत्तर कोरियासँगको मित्रताको लक्ष्मण रेखाहरू तय भएको हुन सक्ने अनुमान गरिएको छ ।

चीनसँग रुसको निकटता आफैँमा ऊ पूर्वतर्फ ढल्किएको प्रतीक हो । रुस आफ्नो शक्तिशाली नेताको शान देखाउन माहिर छ । विश्वमा यस्तो गर्ने देश कमै छन् । तर, यस मामिलामा उत्तर कोरियाले रुसलाई कडा टक्कर दिन सक्छ । परम्परागत लोकतन्त्रबाट रुसले दुरी बनाएपछि दुई देशको नेतृत्वबिचको खाडल साँघुरिँदै गएको देखिन्छ । पुटिन र किम जोङ उनबीचको मित्रताबाट आम रुसी नागरिक खुसी हुन जरुरी पनि छैन । न त उनीहरुले दुई देशबिचको घनिष्ठ सम्बन्धलाई स्वागत गर्नु नै आवश्यक छ ।  रुसको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध युरोप र पश्चिमी मुलुकसँग बढी घनिष्ठ छ ।

दुई देशका नेताहरूको बैठकपछि पुटिनका लागि अर्को खतरा उत्पन्न हुन सक्छ । पश्चिमी देशहरूले रुस र उत्तर कोरिया विरुद्ध थप नयाँ कदम चाल्न सक्छन् । तर पुटिनले यो जोखिम मोल्नै पर्छ । रुस र उत्तर कोरियाबिच के–के कुरामा सहमति भयो भनेर बाँकी संसारलाई थाहा नहुन पनि सक्छ । गएको वर्ष किम रुस भ्रमणमा जाँदा दुई देशबिच के के सम्झौता भयो भन्ने अहिलेसम्म कसैलाई पनि थाहा छैन ।

प्रतिक्रिया दिनुहोस