सिमलतालमा बस र ट्रक ठोक्किए, तीन जना घाइते

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, ११ : २५
सिमलतालमा बस र ट्रक ठोक्किए, तीन जना घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो । दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएका छन भने बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री,ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन ।

दुवै सवारीसाधनमा क्षति पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन्। बसका चालक फरार रहेको र सहचालक नियन्त्रणमा रहेको भण्डारीले बताइन् । सडकखण्डमा अहिले यातायात नियमित सञ्चालनमा रहेको भण्डारीले जानकारी दिइन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा आज बिहान तीन सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ११ च ८२६२ नम्वरको टाटा सफारी गाडीले रोकिराखेको बागमती प्रदेश ०३–००१ च १७७० नम्वरको बोलेरो जिप र ग २ च ४४३६ नम्बरको हाइलेक्स जीपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस