चाडपर्वमा मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री नियन्त्रण गर्न गृह मन्त्रीको निर्देशन

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १९ : ०८
चाडपर्वमा मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री नियन्त्रण गर्न गृह मन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन् । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धी विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘कृतिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणका लागि हामी कहाँनिर सहयोग हुनु सक्छौँ । चाडपर्वको बेलामा दैनिक उपभाग्यका सामग्रीको सहज र सरल पहुँच हुनुपर्‍यो,’ उनले भने।

यसपालिको चाडपर्वमा तीन–चार कुरामा परिणाम देखिने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन थियो। ‘कृतिम अभाव कुनै हालतमा पनि हुन भएन । कृतिम अभाव देखाउने कुरा कुनै हालतमा सह्य हुँदैन । त्यसका लागि हेर्ने निकाय को हेर्नुपर्‍यो । त्यसमा गृह मन्त्रालयले पुरा–पुर सहयोग गर्छ,’ उनले भने ।

दसैं तिहारका बेला एकै रातमा हुने मूल्यवृद्धिलाई सूक्ष्म ढंगले हेरेर नियन्त्रण गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । ‘मुल्यवृद्धिको उचित कारण हुनुपर्‍यो नि ? उही सामान एक दिनअघि एउटा मूल्य छ, अर्को दिन अर्को मूल्य हुन्छ । यो कुरालाई सबैले गम्भीरताका साथ लिएर परिणाम आउने गरी काम गर्नुपर्‍यो,’ उनले भने, ‘गुणस्तरहीन खाद्यवस्तुहरूको बिक्री चाडबाडमै बिक्री गरिन्छ । गुणस्तरहीन वस्तु उपभोगक्ता कहाँ पुग्ने यही बेला हो । यसलाई कडाईका साथ हेर्न जरुरी छ ।’

सरोकारवाला पक्षमा समन्वय हुँला परिणाम दिन सकिने भन्दै चाडपर्वपछि बस्ने अर्को बैठकमा त्यसको मुल्यांकन हुने गृह मन्त्री लेखकले बताए। ‘गृह मन्त्रालय एकतिर, वाणिज्य मन्त्रालय एकातिर, अनुगमन एकातिर, गुणस्तर नापजाँच एकातिर भयो भने राम्रो हुँदैन । एकीकृत रूपमा काम गर्नुपर्‍यो,’ उनले भने, ‘अहिले छलफल भएका विषयमा कसलाई कहाँनिर सहयोग चाहिन्छ । तमतयार भएर सहयोग दिनुहोस् । परिणाम आउनु गरी काम गर्नुहोस् । चाडपर्व पछि आजको छलफलमा भएका कुराको मुल्यांकनका लागि हामी फेरि बैठक बस्छौँ।’

छलफलमा गृह सचिव एकनारायण अर्यालले सरकार भनेको प्रहरी भएको भन्दै बजार अनुगमनमा तीव्रता दिनुपर्ने बताए । उनले वाणिज्य विभागले सबै सहाय जिल्ला अधिकारीसँग जुम मिटिङ गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए । यसपालि दसैंमा सुपथ पसल बढाइने भन्दै कालोबजारी गर्नेमाथि निर्मम भएर कारबाही गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस