कोटेश्वरको गेस्ट हाउसमा ८ हजारसम्म असुलेर वेश्यावृत्ति

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १२ : १८
कोटेश्वरको गेस्ट हाउसमा ८ हजारसम्म असुलेर वेश्यावृत्ति

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित ‘कमलामाई खाजाघर एन्ड गेस्ट हाउस’बाट प्रहरीको मानव बेचबिखन ब्युरोले वेश्यावृत्तिमा लगाएका ५ जना बालिका र युवतीलाई उद्धार गरेको छ । उद्धार गरिएका मध्ये दुईजना १५ र १६ वर्षका छन् । गेस्ट हाउस सञ्चालक रामेछाप घर भएका गोरे नेवा खड्गीले रकम असुलेर उनीहरूलाई यौन सम्पर्क गर्न बाध्य बनाएका हुन् ।

गेस्ट हाउस सञ्चालक खड्गी र गेस्ट हाउसमा यौन धन्दा चलाउन ग्राहक खोज्न हिँड्ने सिन्धुलीको कमलामाई नगरपालिका घर भएका ४२ वर्षीय राजु साहीलाई पक्राउ गरिएको ब्यूरोका एसपी गौतम मिश्रले बताए ।

उद्धार गरिएका ३ जना युवतीहरू १८ वर्ष माथिका छन् । वेश्यावृत्ति गर्न बाध्य पारिएकाहरू सिन्धुपाल्चोक, काभ्रे र उदयपुर घर भएका हुन् ।गेस्टहाउसमा आउने ग्राहकहरूसँग सञ्चालकले एकपटक यौन सम्पर्क राखेमा १ हजार ५ सय र रातभर यौन सम्पर्क गर्नेसँग ८ हजार असुल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पीडितहरूलाई प्रतिग्राहक ५ सय ‘दिन्छु’ भनेपनि गेस्ट हाउस सञ्चालकले सो रकम नदिएको खुलेको छ ।

गेस्टहाउसमा किशोरीहरूलाई राखेर ग्राहक आएपछि छान्न लगाएर उनीहरूले वेश्यावृत्ति धन्दा चलाएका हुन् । उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस