विपद्‌मा परेर २०८ को मृत्यु, ५३ जना बेपत्ता

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, २० : ३४
विपद्‌मा परेर २०८ को मृत्यु, ५३ जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण अहिलेसम्म विपद्का घटनामा परेर २०८ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‌मा परेर मंगलबारसम्म २०८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

बाढी, पहिरोलगायतका विपद्‌मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ५६ जनाको मृत्यु भएको छ । दोस्रोमा बागमती प्रदेशमा ४५ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनीमा ३७, कोशीमा २९, सुदूरपश्चिममा १६, कर्णालीमा १४, मधेश प्रदेशमा ८ र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा २०८ जनाको मृत्यु भएको हो ।

कर्णालीमा ६७, गण्डकीमा ४७, कोशीमा ४२, सुदूरपश्चिममा ३६्, बागमतीमा ३१, लुम्बिनीमा २५, मधेश प्रदेशमा १२ र काठमाडौँ उपत्यकामा ११ जना गरेर जम्मा २७१ जना घाइते भएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

कोशीमा ४९, काठमाडौँ उपत्यकामा ३३, गण्डकीमा १४, बागमतीमा १२, लुम्बिनीमा ४, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १०१ गरी जम्मा २१५ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी बागमतीमा ४४, कोशीमा ३, गण्डकीमा २, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १-१ जना गरेर ५३ जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण ४०८ घर डुबानमा परेका छन् । ३६४ घर, १२६ गोठ, ५२ पुल, ६ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९७२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ६ हजार ४९ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस