विपद् अपडेट : मृतकको संख्या २१७ पुग्यो, २८ अझै बेपत्ता

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ०७ : ४४
विपद् अपडेट : मृतकको संख्या २१७ पुग्यो, २८ अझै बेपत्ता

काठमाडौ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ । २८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । 

प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । 

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको उनले बताए । 

बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए । 

सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज (मंगलबार)देखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो । 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ तर, सार्वजनिक बिदा भने हुने छैन ।

प्रतिक्रिया दिनुहोस