नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु

सफल खबर संवाददाता

सोमबार, १० भदौ २०८१, १७ : १६
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने भएको छ । सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए ।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको विरोध थियो । पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुङ्ग्याउन अध्यक्ष नेपाललाई पनि सकस परेको थियो । उनी पनि मतदानमा जान तयार भएका हुन् ।

१८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनको तयारी थालिएको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्न सक्ने निर्णय यसअघि नै गरेको छ । पोलिटब्युरो सदस्यको संख्या केही समयमा तय गरेपछि मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।