आयो फोक्सो क्यान्सरविरुद्धको खोप

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १६ : ४०
आयो फोक्सो क्यान्सरविरुद्धको खोप

लन्डन । क्यान्सरका कारण मृत्यु हुनेको सङ्ख्या विश्वमा निकै धेरै छ । क्यान्सरका बिरामीहरूमा पनि धेरै मृत्यु फोक्सो क्यान्सरका कारण हुने गरेको छ ।फोक्सोको क्यान्सरबाट हरेक वर्ष १८ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । डाक्टरहरूले धेरै वर्षदेखि यसको उपचारमा अनुसन्धान गरिरहेका थिए ।

अब भने फोक्सोको क्यान्सर रोक्न विश्वको पहिलो एमआरएनए खोप लन्च गरिएको छ । द गार्डियनमा छापिएको समाचारअनुसार यो खोपको नाम बीएनटी ११६ हो ।यो खोप जर्मन बायो प्रविधि कम्पनी बायोएनटेकले बनाएको हो । यो खोपको पहिलो परीक्षण बेलायतका ६७ वर्षीय नागरिक जानुस रैक्जमा गरिएको छ ।

मङ्गलवार उनलाई यो खोपको पहिलो मात्रा दिइएको थियो । यो खोपको परीक्षण गरिएको रैक्स विश्वको पहिलो व्यक्ति हुन् ।प्रारम्भिक चरणमा खोपले शरीरका क्यान्सर कोशिकाहरू पत्ता लगाउने बताइएको छ । खोपको परीक्षण बेलायतबाहेक, अमेरिका, जर्मनी, हंगेरी, पोल्यान्ड, स्पेन र टर्कीका १३० जना फोक्सो क्यान्सरको बिरामीमा गरिँदैछ ।

खोपको परीक्षण सुरुवाती चरणमा भए पनि अनुसन्धानहरूले यो खोपबाट निकै आशा गरेका छन् । कोभिड–१९ विरुद्धको खोप जस्तै यो खोप पनि मेसेन्जर आरएनए (एमआरएनए) पद्धतिको प्रयोग गरेर बनाइएको छ ।यो खोपले हजारौँको ज्यान जोगाउनेमा विज्ञहरू आशावादी छन्  ।

प्रतिक्रिया दिनुहोस