काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य रामकुमार शर्माले देशलाई नयाँ उचाइमा पुर्याउन जसपा नेपालले ‘जनतासँग, जसपा नेपाल’ अभियान सञ्चालन गर्न लागेको बताए ।
जसपा नेपालले आइतबारदेखि सुरु गरेको ‘जनतासँग, जसपा नेपाल’ अभियान अभिमुखीकरण कार्यक्रममा उनले मधेसी जन अधिकार फोरम हुँदै जसपा नेपाल गठन भएको १७ वर्ष भएको भन्दै त्यो बेलादेखि निरन्तर संघर्षमा रहेको बताए । उनले सात दलले अन्तरिम संविधान जारी गरेपछि त्यसमा मधेसीसँग बेइमाने गरेकाे कारण तत्कालीन फोरमले आन्दोलनको सुरुवात गरेको बताए ।
सोही आन्दोलनबाट फोरम दलको रूपमा आएको भन्दै उनले फोरमले गरेको आन्दोलनको उपलब्धिमा बेइमानी भइरहेको बताए । अब जसपा नेपालले पहिचान र अधिकारको लागि संघर्ष गर्ने उनले बताए ।
शर्माले भ्रष्टाचारीलाई जोगाउन दुई दल कांग्रेस र एमालेबिच गठबन्धन बनेको बताए । गठबन्धन सरकार अहिले निकै डराएको दाबी गरे । अब जसपा नेपाल जनताको घर–घरमा गएर त्यसको समस्या बुझेर समाधान गर्न पहल गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १४ : ५९
लेखकबाट थप