सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार छ: आपूर्तिमन्त्री भण्डारी

सफल खबर संवाददाता

शनिबार, ०८ भदौ २०८१, १५ : १०
सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार छ: आपूर्तिमन्त्री भण्डारी

काठमाडौं।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

‘सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने ।

राष्ट्र बैंकबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बीचमा रहेको मन्त्री भण्डारीले बताए । राष्ट्र बैंकबाट सिधै व्यवसायीले खरिद गरेर उपभोक्ता माझ पुग्नुपर्ने उनको धारणा थियो ।

‘उपभोक्तासम्म पुग्दा पाँच माध्यमका कारण झण्डै रु सात हजार महङ्गो पर्छ, यस्तो किन ?, सरकारले पहिला उपभोक्ता हर्ने हो त्यसपछि व्यवसायीलाई हेर्नुपर्छ,’ उनले भने ।

सुनचाँदी व्यवसायीका मागका बारेमा सरकारका तर्फबाट आफूले विभिन्न चरणमा छलफल गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले छिट्टै व्यवसायीसँग छलफल गरेर सरकारले गर्नुपर्ने आवश्यक पहलकदमी आफ्नो मन्त्रालयबाट गर्ने प्रतिबद्धता जनाए । 

चोरी पैठारीका कारण नेपालका सुनचाँदी व्यवसायी मर्कामा परेका उल्लेख गर्दै उनले भने, ‘चोरी पैठारी रोक्नसके सुनचाँदी व्यवसायीले व्यवसायमा मर्का बेहोर्नु पर्दैन, सुनचाँदी व्यवसायीको उचित व्यवस्थापन जरुरी छ ।’

नेपालको सुनचाँदी व्यवसायमा कार्यरत झण्डै ६० प्रतिशत कालीगढ विदेशी रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्वदेशी कामदार बढाउन आवश्यक पहल गर्न व्यवसायीसँग आग्रह गरे ।